ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कागेश्वरी मनोहरा नगरपालिकामा एक वडाको मत गन्न ४० घण्टा समय  !

२०७९ जेठ, १  
समाचार
Image Not Found

जेठ १, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको ३ हजार १०० मतगणना गर्न करीब ४० घण्टा लाग्ने भएको छ ।

वैशाख ३० गते शुक्रवार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना शुरु भएको थियो ।     
     
शुक्रवार रातिदेखि गणना शुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन । हालसम्म वडा नं १ को २ हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन्। यस वडाको मतगणना शुरु भएको ३२ घण्टा पूरा भइसकेको छ ।     
     
वडा नं १ मा ३ हजार १०० मत खसेको छ । बाँकी ७०० मतगणना गर्न आइतवार बेलुकीसम्म लाग्ने अधिकृत राउतले बताइन् । निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन । हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ । यहाँ दुई ओटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ ।     
     
आइतवार दिउँसोको खानापछि अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको छ ।     
     
वडा नं ९ को भने करीब १ हजार ७०० मतगणना भएको छ । नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको बताइएको छ । वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा (एमाले) ले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।     
     
 मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । नगरपालिकामा नौ ओटा वडा छन् । नगरपालिकामा कुल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो ।

यो कुल मतदाता संख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।     
     
विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ ओटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो ।     
     
 एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा रहेका छन् । उनी यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धामा छन् । मतगणनाको प्रारम्भिक परिणाम अनुसार उनी तेस्रो स्थानमा रहेका छन् ।  रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement