ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाली सेनाको अगुवाइमा अघि बढ्दै हिमाल सरसफाई अभियान - २०२२

२०७९ जेठ, ५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ५, काठमाडौँ  । सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा हिम–शृंखलाहरुको सरसफाई गर्दै नेपाली सेनाको अगुवाइमा शुुरु भएको हिमाल सरसफाई अभियानको आधा कार्य सफल भएको छ ।

प्रमुख कर्पोरेट साझेदारको रूपमा कोका–कोला फाउन्डेसन रहेको उक्त अभियानमा अन्य थुप्रै संस्थाहरुले पनि  सहकार्य गरेका छन् । उक्त क्याम्पेनमा नेपाली सेना र शेर्पाहरु गरी जम्मा ७७ जना सदस्य रहेका छन् ।

वार्षिक १ हजार १०० आरोही आउने ८ हजार मिटरभन्दा बढी उचाइका ती चार ओटा हिमालमा आरोही सँग–सँगै ठूलो मात्रामा फोहोर पनि भित्रिने गरेकोले हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीको रुपमा रहेको बताइएको छ ।

फोहोर व्यवस्थापन गर्नका लागि गत अप्रिल ५ बाट शुरु गरिएको हिमाल सरसफाई अन्तरगत हालसम्म चार ओटा हिम–शृंखलाहरुबाट २९ हजार ९९८ केजी (५ हजार २०४ केजी कुहिने र २४ हजार ७९४ केजी नकुहिने) फोहोर संकलन भइसकेको छ ।

ती फोहरहरुमा रित्तो अक्सिजन क्यानिस्टरहरु, पाल, खानेकुराका कन्टेनरहरु, प्लाष्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरु आदि रहेका छन् । अभियानलाई तीव्रता दिंदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्य रहेको नेपाली सेनाले बताएको छ ।

अभियानको बारेमा सेनाका क्याम्पेन डिरेक्टरले अत्यधिक प्रतिकुल मौसम, चोट–पटकको सम्भावना र उच्च जोखिम भएकोले गर्दा हिमालको यात्रा चुनौतिपूर्ण रहेता पनि अभियानलाई सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न सक्दो प्रयास गरिरहेको बताएका छन् ।

नेपाली सेना र विभिन्न सरोकारवालाहरुको अगुवाईमा सञ्चालित हिमाल सरसफाई अभियान विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई अभियानमध्यको एक हो  । 

तेस्रो संस्करणको उक्त अभियानमा कोका–कोला फाउन्डेसन लगातार तीन वर्षदेखि प्रमुख साझेदार रहेको छ । हिमालको प्राकृतिक सुन्दरता र वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने लक्ष्यसहित सञ्चालित अभियान विश्व वातावरण दिवसको अवसर पारेर जुन ५ मा सम्पन्न गरिने पनि नेपाली सेनाले बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x