ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हामी नेपाली कुरा धेरै गर्छौं तर काम ?

२०७९ जेठ, ६  
लेख | दृष्टिकोण
Image Not Found

हामी नेपाली कुरा गर्न लाग्यौं भने विश्व राजनीतिदेखि परराष्ट्र नीतिसम्मका कुरा गर्छौं । तर, हामी कुनै पनि कुरामा परिपक्व छैनौं । हामीले भुटानी शरणार्थी फिर्ता नपठाउन नसकेबाट स्पष्ट हुन्छ । भारतसँगको परराष्ट्र नीतिमा त झन् सधैं कमजोर देखिएका छौं । यस्को उदाहरण त धेरै छन् । नेपाल भारत मिलेर बनाएको विज्ञ समूहले तयार पारेको प्रतिवेदनलाई भारतले नबुझ्नु एउटा प्रमुख उदाहरण हो । यो प्रतिवेदन नेपालीले मात्र बनाएको होइन, दुई देशका विज्ञ मिलेर तयार पारिएको हो । नेपालमा या त परराष्ट्र विज्ञको कमी छ या त हाम्रो सरकारले विज्ञहरूको कुरा नसुनी आफूखुशी निर्णय गर्छ भन्ने यसले देखाउँछ ।

देश जेसुकै होस् तर मेरो पद जसरी पनि जोगिनुपर्छ भन्ने भावना राखेर यसै प्रकार अघि बढ्दै जाने हो भने देशको हालत के हुन्छ यसै भन्न सकिँदैन ।

हामीले विदेशीसँग लिने ऋणको मात्रा बढ्दै गएको छ । हामीलाई प्राप्त हुने सहयोग घट्दै गएको छ । यस्तै पाराले देश चलाउँदै जाने हो भने देश टाट पल्टिन धेरै समय लाग्दैन । राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने अहिले हामीसँग विदेशी मुद्राको सञ्चिति दिनप्रतिदिन घट्दै गएको छ ।

कुनै बेला धान, आलु र जुट निर्यात गर्ने देशमध्ये नेपाल पनि एक पथ्र्यो । अहिले आएर हामी हाम्रो भान्छामा पाक्ने सामानका साथै, नुनदेखि सुनसम्म आयात गर्छौं । निर्यात चाहिँ आयातको ५ प्रतिशत पनि मुस्किलले गर्छौं । के यस्तै पाराले हामीले हाम्रो देशलाई विकसित बनाउन सक्छौं ?

हामी सबैले पढेको र सुनेको नै हो हरियो वन नेपालको धन । तर, आज हामी हाम्रो दैनिक उपभोगको लागी चाहिने काठसमेत विदेशबाट आयात गर्छौं । यसले के बुझ्न सकिन्छ भने हाम्रा नेताहरूले विज्ञभन्दा आफू झन् ठूलो ठान्छन् । त्यसैले उनीहरू न जनताको कुरा सुन्छन् न विज्ञको ।

एउटा सानो उदाहरण गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा आफ्नो राजनीतिक सल्लाहकारका रूपमा त्रिविका राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनाललाई राज्यमन्त्री सरहको सुविधा उपलब्ध गराउने गरी नियुक्ति दिए । तर, खनालको सल्लाह नमानेपछि उनले केही दिनमा नै राजीनामा दिए ।

हुन त नेपालमा पदका लागि मरिहत्ते गर्ने धेरै छन् तर त्यसो भन्दैमा आफूलाई जुन कामको लागि नियुक्ति गरिएको हो त्यससम्बन्धी सही काम गर्दा वा सही सुझाव दिँदा त्यसको बेवास्ता हुन्छ भने त्यस्तो पदमा बस्नुको के औचित्य भन्ने मानिस पनि यहाँ नभएका होइनन् । तर, यो कुरा बुझिदिने कसले ? यसरी यउटा विज्ञले दिएको सुझावको त कुनै कदर हुँदैन सर्वसाधारणले जतिसुकै राम्रो र सही सल्लाह दिए पनि सुन्ने कुरै भएन । तर पनि कतिपय व्यक्तिहरूले आफ्नो लेख तथा विभिन्न अन्तर्वार्तामार्फत सल्लाह दिइरहेका हुन्छन् । त्यो पढ्ने र सुन्ने हाम्रा शासक प्रशासकलाई फुर्सद हुने कुरै भएन । जब आफूलाई नै विज्ञ सम्झिएर अरू कसैको पनि कुरा सुनिँदैन भने देशको स्थिति सप्रने होइन बिग्रँदै जान्छ । यस कुराको उदाहरण हाम्रो देश पनि हो । कुनै बेला बेलायतजस्तो सूर्य नअस्ताउने देशलाई समेत आर्थिक सहयोग गर्न सक्ने क्षमता राख्ने नेपाल आज आएर आफै टाट पल्टिने अवस्थामा पुगेको छ तर पनि हाम्रा नेताहरूमा अझै आफू मात्रै जान्ने सुन्ने भन्ने भ्रम सकिँदैन तबसम्म हाम्रो अवस्था सधंैभरि यस्तै नै रहन्छ । अझ भनूँ हामी दिन पर दिन अझ खस्कँदै जान्छौं ।

हामीलाई सहयोग दिने राष्ट्र दिन प्रतिदिन कम हुँदै गएका छन् । यसले गर्दा हाम्रो ऋणको मात्रा दिन प्रतिदिन बढ्दै गएको छ । हामी सबैलाई थाहा भएकै कुरा हो अहिले प्रत्येक नेपालीको टाउकोमा ७० हजार ऋणको भार छ तर पनि हाम्रा नेताहरूलाई कुनै मतलब भएजस्तो देखिँदैन । यदि नेताहरूको चेत अब पनि खुलेन भने हाम्रो देशको हालत पनि श्रीलंकाको जस्तो हुन बेर लाग्दैन । त्यसैले अब हामीले परराष्ट्र नीतिलाई असंलग्न राष्ट्रको भूमिकालाई सही तरीका अपनाउनुको साथै देशलाई उत्पादनमुखी नीतिमा जोड दिएर अघि बढ्न ढिलो गर्न हुँदैन ।

अर्को मुख्य कुरा के हो भने अब हाम्रा नेताहरूले आफ्नो पद कसरी कायम राख्नेभन्दा पनि कसरी देशलाई दुर्घटनाबाट जोगाउने भनेर नीति नियम बनाएर अघि बढ्नु जरुरी छ । किनकि देश रह्यो भने र आफूले राम्रो काम गर्‍यो भने पद फेरि पनि पाउन सकिन्छ । अर्को मुख्य कुरा के हो भने नेताहरूले म सधैं पदमा रहिरहनुपर्छ भन्ने मनस्थिति त्याग्नुपर्छ ।

यदि राजनीति जनताको सेवा हो भने आफूभन्दा तल्लो तहको व्यक्ति सक्षम छ भने उसका लागि पद छाड्ने क्षमता राख्नुपर्छ र आफूले अभिभावकको भूमिकामा रहनुपर्छ । यसले गर्दा उसले गरेको कमीकमजोरीलाई हटाउन सकिन्छ । यस्तो कमीकमजोरी हटाउँदै जाने हो भने देशको भूमिका अझ दिन प्रतिदिन खस्किने नभई बिस्तारै उँभो लाग्दै जान्छ । तर, अहिलेकै जस्तो अवस्था रहिरहने हो भने देशले गम्भीर परिस्थितिको सामना गर्नुपर्छ ।

अब देशलाई विकास पथमा लम्काउने भनेर सबैको ध्यान जानुपर्छ । एकले सुकी थुकी हजार थुकी नदी भनेजस्तै सबै मिलेमा देश नबन्ने होइन । तर, धेरै नेपालीमा कुरा बढी गर्ने तर काम नगर्ने बानी छ । जिम्मेवारी जति अरूको र जस जति मेरो भन्ने सोच रहेसम्म काम गर्ने संस्कार बन्दैन । मुलुकमा यही संस्कार कम भएकाले उन्नतिको बाटोमा अघि बढ्न नसकिएको हो ।

देश जेसुकै होस् तर मेरो पद जसरी पनि जोगिनुपर्छ भन्ने भावना राखेर यसै प्रकार अघि बढ्दै जाने हो भने देशको हालत के हुन्छ यसै भन्न सकिँदैन ।

हामी जनताले पनि देशले मलाई के दियो भन्दा पनि मैले देशलाई के दिन सक्छु भनेर आफ्नो क्षमता बुझ्नु जरुरी छ । आफ्नो विज्ञताको आधारमा मात्रै काम गर्नुपर्छ भन्ने जानेको छैन भने आफूभन्दा जान्नेको सल्लाह लिन जरुरी छ ।

लेखक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x