ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

औद्योगिक प्रवर्द्धनका लागि समाजवादी मितव्ययी नवप्रवर्तन

सस्तोमा नवप्रवर्तन गर्न लघुउद्यम कार्यक्रम प्रभावकारी

२०७९ जेठ, ८  
लेख | दृष्टिकोण
Image Not Found

अबका कुनै पनि प्रतिस्पर्धी दल वा नेताको राजनीतिको मूलभूत एजेन्डा द्रुततर आर्थिक विकास हुनुपर्छ र आर्थिक विकासको रणनीति औद्योगिक विकास नै हुनुपर्छ । यसमा यदि कसैले होइन कृषि हुनुपर्छ भन्छ भने त्यो अर्ध सत्य हो र पूर्ण सत्य त्यति बेला हुन्छ जब कृषिलाई उद्योगीकरण गर्ने भन्छ । औद्योगिक प्रवर्द्धनका लागि आवश्यक आधारभूत पक्ष नवप्रवर्तन (इन्नोभेशन) हो । हामीलाई पश्चिमेलीको जस्तो खर्चिलो नवप्रवर्तन चाहिएको होइन, बरु हाम्रो मुलुकको खाँचोको प्रतिनिधित्व गर्ने नवप्रवर्तन समाजवादी र मितव्ययी (फ्रगल) पनि हुन आवश्यक छ । मुलुकमा औद्योगिक आय ५ प्रतिशतको हाराहारीमा रहेको छ । खाद्यवस्तुमा २ तिहाइ अंश बाह्य निर्भरता छ । कृषि भूमि र कृषि उत्पादकत्व ह्रास हुँदै गएको छ । मुलुकको आत्मनिर्भरता समाप्त हुँदै गएको छ । निर्यात व्यापार न्यून रहेको छ । भुक्तानी सन्तुलन निराशाजनक रहेको छ । यस्ता धेरै चुनौतीको सामना गर्नुपर्ने भएबाट आर्थिक जटिलता थपिएको छ । त्यसमाथि मुलुकको भ्रष्ट राजनीतिले आर्थिक व्यवस्थामा पक्षघात नै सृजना गरेको छ । यो खासगरी नेपालको आफ्नै प्रकारको चुनौती हो । यसको सामना गर्ने वा समाधान खोज्ने आशाको त्यान्द्रो औद्योगिक विकास हो ।

विश्व बजारको अवस्था अस्थिर, चलायमान, जटिल र द्विविधाजनक भएकाले यो बढी अनिश्चित छ । निश्चितताको कुरा गर्ने हो भने दुई कुरा मात्र निश्चित छन्– विश्वमा स्तरीय वस्तुको निरन्तर माग वृद्धि हुँदै गएको छ र स्रोतको दिनप्रतिदिन अभाव हुँदै गएको छ । यही माग र आपूर्तिबीचको अन्तर र द्वन्द्वको स्थिति नै उत्पादन प्रणालीको तथा बजारको मुख्य चुनौती हो । यो नेपालले मात्र होइन, विश्वका सबै मुलुकले भोग्नुपर्ने चुनौती हो । अत: कुनै पनि उद्योगको रणनीति थोरै लगानीबाट धेरै उपलब्धि प्राप्त गर्ने हुनुपर्छ । त्यसैले उद्योग सञ्चालन गर्दा ध्यान केन्द्रित गर्नुपर्ने विषय गुणस्तर, मूल्य अभिवृद्धि र नवप्रवर्तन नै हो । नवप्रवर्तन भनेको नवीनतम प्रविधि वा अभ्यासहरू व्यवहारमा उतार्नु हो ।

मितव्ययी नवप्रवर्तन भनेको ‘थोरै लगानीबाट धैरै आम्दानी गर्ने’ भन्ने व्यावसायिक रणनीति नै हो । फुजित्सु, सुजुकी, ग्लाक्सो, स्मिथ क्लाइन, पेप्सिको, रेनल्ट, निसान, साइमन, पियर्सनजस्ता कम्पनीहरूले मितव्ययिता, प्रभावकारिता, गतिशीलता र नवप्रवर्तनमा ध्यान दिएका छन् । समाजवादी शैलीमा रूपान्तरण गरिएको मितव्ययी नवप्रवर्तनको मोडल लघु उद्यम कार्यक्रमका रूपमा नेपालमा सफलतापूर्वक परीक्षण भइसकेको छ । मितव्ययी नवप्रवर्तनका देहायअनुसारका नौओटा विशेषता वा सिद्धान्त छन् ।

उपभोक्ताको वरिपरि केन्द्रित व्यवसाय
खर्चिलो अनुसन्धान र विकास पद्धतिबाट भन्दा आफ्ना उपभोक्ताहरूको चाहना, खाँचो, व्यवहार र प्रवृत्तिअनुसार यथास्थानमा प्राकृतिक वातावरणमा र वासस्थानमा नै केन्द्रित रहेर तिनीहरूको खाँचो र चाहनाअनुसारका वस्तु र सेवा विकसित गर्दै जाने गरिन्छ । मेडेप कार्यक्रमका व्यवस्थापक, म्यानेजर र मार्केटिङ अफिसरहरूले लघुउद्यम समाज सृजना गरी यस्तै उपभोगमा केन्द्रित रहेर वस्तु विकसित गर्ने (प्रडक्ट डेभलपमेन्ट) र चाहिएका वस्तु उत्पादन गर्ने पद्धति अपनाउँछन् ।

स्थानीय स्रोत साधनबाट प्रारम्भ
स्थानीय स्रोतसाधन भनेको आफ्नै गाउँठाउँमा पाइने स्थानीय वस्तुहरू प्रयोगमा ल्यउनु हो । त्यस्ता, वस्तुहरूमा कृषि पैदावर, वन पैदावर र खनिज पैदावरका प्रारम्भिक वस्तुहरू पर्छन् । मेडेपले आफ्ना लघुउद्यमीहरूका लागि यस्तै वस्तुहरूमा आधारित उद्योग सञ्चालन गरेकाले सीमा नाकाहरू बन्द भई नेपालका संपूर्ण उद्योगहरू बन्द रहेको अवस्थामा पनि लघुउद्यमहरू पूर्ण क्षमतामा सञ्चालनमा रहेका थिए ।

विपन्न केन्द्रित उद्यमशीलता
उद्योग सम्पन्न व्यक्तिले गर्ने लगानी हो भन्ने विषय सबैले बुझेको कुरा हो । मेडेपले अपनाएको लघुउद्यम कार्यक्रम भने विपन्न व्यक्तिहरू उद्यमी हुने उदेकलाग्दो प्रयोग र नौलो प्रकारको नवप्रवर्तन नै हो । छानिने उद्यमीहरू गरीबी निवारणको प्रयोजनका हिसाबले विपन्न वर्गमा परेका हुन्छन् । त्यसमा पनि अझ महिला, दलित, जनजाति र अति विपन्न वर्ग प्रथमिकतामा रहेका छन् । लघु उद्यम कार्यक्रमले ६० हजारभन्दा बढी यस्ता लक्षित समूहलाई उद्यमी बनाउन र उनीहरूको भाग्य परिवर्तन गर्न सफलता प्राप्त गरिसकेको छ ।

एकका लागि धेरै, धेरैका लागि एक  
लघुउद्यम कार्यक्रम सहकारीजस्तै १५–२० जनाको समूहमा शीप विकास र व्यावसायिकलगायत विभिन्न शैक्षिक तथा तालीम कार्यक्रमको साथमा सञ्चालन गरिने र विभिन्न सरोकारवाला मन्त्रालय र तिनका एजेन्सी, बैंक, कार्यक्रमका साझेदार संगठन हुने भएकाले ती र कार्यक्रमका पदाधिकारीहरू प्रत्येक उद्यमीका लागि पनि समर्पित हुने र हरेक साझेदार संस्था वा पदाधिकारीको सेवाको लाभ सबै उद्यमीले प्राप्त गर्ने तथा उद्यमीको समूहमा पनि प्रत्येक व्यक्तिले समूहलाई र समूहले व्यक्तिलाई सहयोग पुुर्‍याउने भएकाले एकका लागि धेरै र धेरैका लागि एकको भावना चरितार्थ भएको छ ।

उद्योगमा विविधीकरण पद्धति
उत्पादन, वितरण, बजार, वस्तु र सेवाको वैज्ञानिक विविधीकरण पद्धति अपनाएमा मात्र स्रोतसाधन र समयको सदुपयोग र बचत हुन्छ । उपभोक्तालाई उपयुक्त स्तर, ढाँचा, मूल्य, चाहना र आवश्यकताअनुसारको वस्तु र सेवा वितरण गर्न सकिन्छ र जहाँ रहेका छन् त्यहाँ, जहिले चाहन्छन् त्यति बेला, जति चाहन्छन् त्यति पुर्‍याउन सकिन्छ । लघुउद्यम कार्यक्रमले कच्चा पदार्थको र उत्पादित वस्तुको राम्रो विविधीकरण गरेको थियो ।

वातावरणमैत्री दिगो समाधानको अभ्यास
वर्तमानमा स्रोतको बढी उपयोग गर्दा कालान्तरमा स्रोतको न्यूनता रहन जान्छ र विकासोन्मुख अर्थव्यवस्था पश्चिमा जत्तिकै सम्पन्न हुने बेलासम्म अरू थप दुई/तीनओटा पृथ्वीको स्रोत आवश्यक पर्नेछ । यसका लागि यस प्रणालीले बजारीकरणका नाराभन्दा दिगो आर्थिक वृद्धिको रणनीति तयार गर्नुपर्नेे सिद्धान्तमा जोड दिएको छ । लघुउद्यमले पनि वातावरणीय संरक्षणमा जोड दिएको छ र प्राकृतिक स्रोतमा आधारित कच्चा पदार्थको दिगो उपयोग, खेर गएका सामग्रीको पुन: उपयोग, सामग्रीको सहकारी खपत जस्ता अभ्यास गर्दै आएको छ । हाम्रा स्टील, कागज जस्ता उद्योग र युनिलिवर, मार्क–स्पेन्सर, किङ्फिसर समेतका बहुराष्ट्रिय कम्पनीले पनि वातावरणीय असर न्यूनीकरण गर्न पहल गरेका छन् र वस्तुको पुन: उपयोग वा यस्तै उपयुक्त प्रविधि अपनाएर व्यवसाय र वातावरणीय समस्या समाधानको उपायमा ध्यान केन्द्रित गरेका छन् ।

उपभोक्ताको व्यवहार परिवर्तन
कुनै वस्तु वा सेवामा बानी परिसकेका उपभोक्ताहरूको आफ्नो बानी, लगाव र रुचि परिवर्तन गर्नु निकै चुनौतीपूर्ण काम हो । पूर्वाग्रह, कोरा विश्वास र पुरानो मान्यताले उपभोक्तालाई आफ्नो व्यवहार परिवर्तन गर्न र एउटा ब्रान्डको वस्तु वा सेवाबाट अर्कोमा फड्को मार्न अवरोध पुर्‍याउँछ । तिनीहरूको धारणा परिवर्तन गर्न केही स्वस्थ रणनीति प्रयोग गर्न सकिन्छ । जस्तो वारल्के, आइकिया, खाँ एकेडेमीजस्ता व्यावसायिक संगठनहरूले तथा हाम्रै मुलुकका चौधरी ग्रूप, वरुण बेभरेज, कोकाकोला कम्पनीजस्ता व्यावसायिक संगठनहरूले विभिन्न रणनीति अपनाएर उपभोक्ताको व्यवहार परिवर्तन गरी आफ्ना वस्तु र सेवातर्फ उपभोक्तालाई आकर्षित गर्न सफल भएका छन् । कुनै नारा प्रयोग गरेर, उपहार दिएर, सहुलियतपूर्ण मोलमा वस्तु वा सेवा उपलब्ध गराएर, रेडियो, टीभी आदिमा विज्ञापन गरेर धेरै तरीकाले अकर्षित गरेका छन् । यसका लागि वस्तु वा सेवाको मितव्ययी उत्पादन, लागत सुपथ मूल्य, गुणस्तर र ब्रान्डिङ प्रमुख रणनीति हुन सक्छन् । यसरी उनीहरू निष्ठावान् उपभोग सृजना गर्न समर्थ भएका छन् ।

निष्ठावान् उपभोगलाई साथ लिएर मूल्य सृजना
उपभोक्ताहरू एउटा आदर्श व्यवसायका मूल्यवान् स्रोत व्यक्तिहरू हुन् । त्यस्ता उपभोक्ताले, सेवा र वस्तुको प्रतिक्रिया दिएर, पुष्ट्याइँ दिएर, नयाँ सोच दिएर, नयाँ उपभोक्तालाई आफ्नो अनुभव बताएर, उद्योगलाई पृष्ठपोषण दिएर र अरू धेरै तरीकाले वस्तु र सेवाको वितरण, विकास तथा सुधारका लागि सहयोग पुर्‍याएका हुन्छन् । अनि वस्तु सेवालाई अझ छिटो, अरू राम्रो अझ स्तरीय बनाउन र थोरै साधनबाट धेरै गर्न मद्दत गर्छन् । उनीहरू मध्येबाट नै प्रवर्द्धन गराउन र मार्केटिङ लिडर छान्न सकिन्छ । अचान, डु इट योरसेल्फ, टेकसप, आइकियाजस्ता व्यवसायले उपभोक्ताको सोच र सल्लाहको उपयोग गरेर उनीहरूसँग साझेदारीमा व्यवसाय सञ्चालन गरेर ब्रान्डको विकास गरेका छन् ।

रचनात्मक सम्बन्ध सूत्र निर्माण
 सामसुङ, फोर्ड, मित्सुबिसी, सोनी, ह्युन्डाइ आदि कम्पनीले विभिन्न संस्थासँग साझेदारी गरेर अनुसन्धान र विकास पद्धतिका साथ सफा, स्वच्छ र समुन्नत ढंगले संस्था सञ्चालन गरेका छन् । यस्ता नमूना व्यवसायहरूले विश्वविद्यालय, प्रविधिक शिक्षालय, अनुसन्धानमूलक संस्था, वितरक संस्था, लगानीकर्ता संस्था, प्रविधि विकास तथा सेवा केन्द्रहरू जस्ता संस्थासँग सम्बन्ध सूत्र पनि स्थापित गर्छन् । लघुउद्यम कार्यक्रमले पनि धेरै मन्त्रालय, विभाग तथा एजेन्सीहरूसँग साझेदारी सम्बन्ध स्थापित गरेको छ । यस किसिमको सम्बन्ध, अनुसन्धान, प्रविधि, आर्थिक स्रोत आदि कुनै विषयसँग र व्यवसायको कुनै चरणसँग वा कुनै पनि सिद्धान्तसँग सम्बद्ध हुन सक्छ ।

लेखक बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालका उपाध्यक्ष हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x