जेठ ८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य बढेको छ । यो दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यो दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला १५ रुपैयाँले बढेको चाँदीको मूल्य यो दिन यो स्थिर रहेको हो । आइतवार चाँदीको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य बढेको छ । आइतवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८४६ दशमलव ५३ डलर पुगेको छ ।
त्यसैगरी, आइतवार अमेरिकी डलरको मूल्य पनि स्थिर रहेको छ । यो दिन एक अमेरिकी डलरको विक्रीदर १२४ दशमलव ३८ रुपैयाँ रहेको छ । अघिल्लो दिन पनि एक अमेरिकी डलरको मूल्य १२४ दशमलव ३८ रुपैयाँ रहेको थियो ।