ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सिलाइकटाइ शीपले व्यवसायमा स्थापित मलिका, वार्षिक २५ लाखको कारोबार, अमेरिका-अष्ट्रेलिया निर्यात

महिलाले गरेको बिजनेशलाई समाजले बिजनेश नै नठान्दा हुनुपर्ने जति प्रगति गर्न सकिनन्

२०७९ जेठ, ८  
समाचार
Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । काठमाडौंकी रैथाने मलिका श्रेष्ठलाई ३१ वर्षअघि सिलाइको शीपले यो उचाइमा पुर्‍याउला भन्ने लागेकै थिएन । ६० वर्षीया उनलाई सिलाइको काम त अरुले नै गर्ने हो भनेर हतोत्साहित गर्ने पनि थिए । तर, उनी निरन्तर यसैमा लागिरहिन् ।

पुराना दिन सम्झिँदै उनी भन्छिन्, ‘छोरी मान्छेले घरबाट बाहिर निस्कनु हुँदैन, साडीचोलो लगाएर घरमै बस्नुपर्छ भन्ने मान्यता थियो । परिवारको जोड अध्ययनमा हुन्थ्यो, सिलाइकटाइमा सहयोग थिएन ।’ 

परिवारले त उनलाई सिलाइको काम गर्ने छूट पनि दिएको थिएन । उनको रुचिका अगाडि परिवारको अवरोध कमजोर साबित भए । अरूले रोक्न खोजे पनि बहिनीले साथ दिइन् । परिवारको स्वीकृतिविनै दिदीबहिनी सिलाइ तालीम लिन निस्के । 

तालीम लिएपछि दुवैले यसमै काम गर्ने सोच बनाए । शीपलाई व्यवसायका रूपमा अघि बढाउन उनले काठमाडौंको न्यूरोडस्थित आफ्नै घरको खाली तल्ला प्रयोगमा ल्याइन् । सिलाइ मेशिन र १ हजार ५०० रुपैयाँबाट सिलाइकटाइ र ड्राफ्टिङ व्यवसाय शुरू गरेको उनी सम्झन्छिन् । त्यसबेला कपडा ३० रुपैयाँ मीटरमा पाइन्थ्यो, अहिलेभन्दा निकै सस्तो । 

बहिनी होलिकासँग मिलेर व्यवसाय शुरू गरेकी मलिका सिलाइमा पोख्त थिइन् । दुई जनाले सिलाएको सामान विक्री गर्न भने कठिन भयो । ‘शुरूमा लेडिज गाउन बनाएका थियौं,’ उनी सम्झिन्छिन्, ‘ती लुगा बेच्न बजार जानै लाज लाग्ने । तर, सामान विक्री गर्नुको विकल्प थिएन ।’ घरकी कान्छी बहिनीलाई उनी आसपासका पसलमा बुभ्mन पठाउँथिन् ।

‘त्यो बेला काम जति पनि गर्न सक्ने तर सामान विक्री गर्न लाज लाग्ने,’ मलिका भन्छिन्, ‘तर, एउटा पसलले हाम्रा गाउन राखिदियो । आफूले बनाएका गाउन पसलको ह्यांगरमा झुन्डिएको देख्दा हामी निकै उत्साहित हुन्थ्यौं ।’ पहिलोपटक दुईओटा गाउन विक्री भयो । गाउनको मूल्य ९० रुपैयाँ थियो । त्यसपछि दर्जनौं गाउनको माग आयो । त्यसले व्यवसायलाई उचाइ दिन मनोबल बढेको उनी सुनाउँछिन् । 

व्यवसाय त्यो स्तरमा पुगिसक्दासम्म परिवारका अन्य सदस्यलाई जानकारी थिएन । महाबौद्ध र न्यूरोड गरी दुई ठाउँमा घर हुँदा एउटामा व्यवसाय गरेको परिवारले पत्तै पाएन । आफ्नो शीपलाई आकार दिन चाहेकी मलिकालाई विन मल्टिपर्पोज को–अपरेटिभले दिएको तालीम नै अवसरको ढोका खोलिदिने माध्यम बन्यो । एउटा अन्तरराष्ट्रिय संस्थाको सहयोगमा भएको उक्त तालीमले सिलाइमा हात बसाइसकेकी उनलाई थप हौसला दियो । 

तालीमकै क्रममा प्रतिस्पर्धा हुँदा अब्बल बनेकी मलिकालाई ‘टर्निङ पोइन्ट’ नै त्यही तालीम बन्यो । त्यो बेला अमेरिका बस्ने भोला केसी काठमाडौंमा आएका थिए । सामान मन पराएर केसीले मलिकालाई बोलाए । सय पिसको अडर दिँदा र पहिलोपटक नै सामान अमेरिका निर्यात हुने थाहा पाउँदा निकै उत्साहित भएको उनले सुनाइन् । 

‘त्यतिबेला गाउन नभएर वेस्टकोट (इस्टकोट) बनाउन अर्डर आयो,’ उनी उत्साहित भएको सुनाउँछिन् । 

त्यो अर्डरले थप दुई जनाले रोजगारी पाए । घरपरिवारबाट छलिएर शुरू गरेको व्यवसायको उत्पादन शुरूमै अमेरिका, अस्ट्रेलिया जस्ता देशमा जान थाल्यो । अमेरिकापछि अस्ट्रेलियाबाट गार्मेन्ट (ज्याकेट)को माग आउन थालेपछि पछि फर्किन नपरेको उनी बताउँछिन् । ‘मैले बिजनेश गर्ने भनेर पढेको होइन,’ मलिका भन्छिन्, ‘आर्टस् पढियो तर हातमा शीप थियो । शीपलाई बिजनेशमा रूपान्तरण गर्न शुरुआती दिनमा भने आएन ।’

को–अपरेटिभको सदस्य भएपछि मार्केटिङमा सजिलो भएको उनको अनुभव छ । आफ्ना उत्पादनको निर्यात नै शुरू गरिसकेकी उनलाई समाज अझै पनि चुनौतीका रूपमा अगाडि उभियो ।

‘४/५ थान गाउन सिलाएर बस्नेलाई निर्यातको अर्डर आउन थालेसँगै धागो/कपडा धेरै चाहिने भयो तर किन्न जाँदा नपत्याइदिने,’ मलिका भन्छिन्, ‘कस्तोसम्म भने थानका थान कपडा, धागोहरू माग्दा नै होच्याउने र विश्वास नै नगर्ने ।’

आफू रातिसम्म काममै व्यस्त हुनुपर्ने, घरको चाहना छिट्टै आओस्, बालबच्चा हेरोस् भन्ने हुन्थ्यो । ‘त्यो कठिनाइ व्यक्त गर्नै सकिँदैन,’ उनले भनिन्, ‘सजिलोसँग केही पनि हुँदो रहेनछ ।’

सय मीटर कपडा माग्दा विश्वास नगर्ने बजारले अहिले फोनकै भरमा लाखौंका सामान दिन्छ । स्थापित हुन र व्यवसाय टिकाउन भने उनलाई अप्ठ्यारो भएन । प्रारम्भिक दिनबाटै निर्यात थालेको र ग्राहक विदेशी भएकाले रकम अग्रिम आउँथ्यो, जसले गर्दा व्यवसाय सञ्चालनमा लगानीको समस्या भएन । यति हुँदासम्म पनि कारखाना खोलेर अघि बढ्ने आइडिया र लगानी नभएको उनले सुनाइन् । 

उनलाई अचेल आइडिया नभएकै कारण ऊ बेला कछुवाको गतिमा व्यवसाय अघि बढेको जस्तो लाग्छ । ‘आफूसँग आइडिया थिएन, अलिअलि चल्ने शीप थियो,’ उनी भन्छिन्, ‘महिलाले गरेको बिजनेशलाई समाजले बिजनेश नै नठान्दा हुनुपर्ने जति प्रगति गर्न नसकेको उनको भनाइ छ ।’ उनले २०४५ सालमा व्यवसाय दर्ता गरेर अघि बढेकी हुन् । 

कारखाना चाहिँ पहिला माइतीघरको एउटा कोठा र पछि महाबौद्धमा खोलिन् । त्यसपछि कुपण्डोल हुँदै अहिले सीतापाइला पुगेको छ । अर्डरअनुसार सामान बनाउने उनको कारखानामा जुत्ता, ब्याग, पर्दा, कुसन, माक्स र अफिसियल ब्याग बन्छन् । अधिकांश कच्चा पदार्थ नेपाली बजारमै पाइन्छ । केही सामान भने आयात गर्नुपर्ने उनले सुनाइन् । 

नेचुरल फाइबरका कच्चा पदार्थ संखुवासभाबाट ल्याउँछिन् । त्यहाँका महिलाले उत्पादन गरेका गाँजा र अल्लोको धागो/कपडा पनि ल्याउँछिन् । ‘मलाई चिनाएकै अल्लो/गाँजाको उत्पादनले हो,’ उनले भनिन्, ‘स्थानीय कच्चा पदार्थ, महिला उद्यमीको उत्पादन र शीप प्रवर्द्धन गर्नु पनि हाम्रो काम हो ।’

कोरोनाका कारण व्यवसाय मन्द गतिमा चलेको सुनाउने मलिकाले आफ्ना उत्पादनहरू फ्रान्स, अस्ट्रेलिया, जापानजस्ता देशमा निर्यात गर्छिन् । कोरोनापछि अन्य देशबाट आउने अर्डर घटेका बेला बेल्जियमबाट आउन थालेको छ । कोरोनाअघि उनले वार्षिक २५ लाखसम्मको कारोबार गर्थिन् । 

व्यवसायमा ३ दशकभन्दा बढी बिताएकी मलिका आफ्नो क्षमता र प्रतिभा नै प्रधान भएको बताउँछिन् । महिलाले आफ्नो कामको भ्यालू आफै बढाउनुपर्ने उनको सुझाव छ । महिलाले कामको विषयमा स्पष्ट भएर लक्ष्यका साथ व्यवसायमा आउनुपर्ने उनको सुझाव छ । राज्यले दिने सुविधामा उत्तिकै चासो दिनुपर्ने र लाभ लिन सक्रिय हुनुपर्ने उनी बताउँछिन् । क्राफ्ट प्यालेस प्रालिबाट व्यवसाय गरिरहेकी मलिकाले शुरुताका जुन कोअपरेटिभबाट तालीम लिएकी थिइन्, अहिले त्यसैको अध्यक्ष छिन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x