नेपालमा मानिसले आफ्नो जन्मथलोभन्दा टाढाको देशमा गएर लाखौंलाख खर्च गरेर कैयौं दिन लगाएर ज्यानसमेत जोखिममा राखी विश्वका अग्ला र खतरनाक मानिने हिमाल चढ्ने गर्छन् । मानिस आफ्नो ज्यानको समेत पर्वाह नगरी किन हिमाल चढ्छन् त ?
विदेशीहरू किन हिमालय क्षेत्रमा घुम्न आउँछन् भन्ने विषयमा नेपालका भूगोलविद् तथा अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भनेका छन्, ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईर्ष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो । पर्वत संसारको सबभन्दा गोप्य अंग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र ... ।’
हुन पनि डाक्टर हर्क गुरुङले भनेझैं नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेशेवर पर्वतारोही’ हुन अझै धेरै समय लाग्ने देखिन्छ । विदेशी पर्वतारोहीहरूले नेपालका हिमाल चढ्न आउँदा सरकारलाई सलामी ‘रोयल्टी’ तिर्ने गरेका छन् ।
गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । विदेशी पर्वतारोहीहरूले अहिलेको अवधिमा सगरमाथा चढ्न मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च धेरै हुन्छ । गतवर्षको हिउँदे याममा मात्रै नेपालका ५३ ओटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोही आएका थिए । तीमध्ये २७ ओटा हिमाल मात्रै पर्वतारोहीले सफलतापूर्वक आरोहण गरेका थिए ।
गतवर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैयाँ सलामी दस्तुर उठाएको थियो । गतवर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले तिरेको सलामी (रोयल्टी) बापत मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर आम्दानी गर्ने देखिन्छ । हालसम्म ४ सय १४ ओटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौं अग्लो धवलागिरि, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथम हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।