ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बेनी–तातोपानी सडक कालोपत्र

२०७९ जेठ, १५  
गण्डकी प्रदेश
NA

म्याग्दी । प्राकृतिक उपचारस्थलको रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी–तातोपानी खण्डको सडक कालोपत्र सकिएको जानकारी दिए ।

‘पहिरोको समस्या र जग्गा विवाद भएकोबाहेकका ठाउँमा कालोपत्र सकिएको छ,’ उनले भने, ‘११ मिटर फराकिलो सडकमा सात मिटर चौडाइका दरले कालोपत्र गरिएको हो ।’ ९ किलोमिटर दूरीमा डीबीएसटी प्रविधिको कालोपत्र गरिएको उनले बताए ।

सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्र गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो ।

सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । कच्ची सडक हुँदा बेनीदेखि तातोपानी पुग्न एक घण्टा लाग्ने गरेकोमा अहिले २० मिनेटमा पुग्न सकिने भएको यातायात व्यवसायीले बताएका छन् । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले गत चैतदेखि सुरु गरिएको कालोपत्रको काम करीब दुई महीनामा सकिएको बताए ।

‘तातोपानीदेखि सिमसम्मको थप तीन किलोमिटर सडक विस्तार सकेर पर्खाल र नाली निर्माण अन्तिम चरणमा पुर्‍याएका छौं,’ उनले भने, ‘काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन सकेका छैनौं ।’

२०७४ असोज ४ गते ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त बजेट विनियोजन नहुँदा र निर्माण कम्पनीले उपकरण र मजदूर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।

जिल्लाको ‘लाइफ लाइन’ मानिने बेनी–दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो । आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङसम्म आठ किलोमिटर सडक खण्ड कालोपत्र गर्न रू. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो ।

पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मङ्गला गाउँपालिका–२ बाबियाचौरका श्रीराम पौडेलले बताए । यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ । मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement