ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा बिदा बढाउँदै स्थानीय तह

२०७९ जेठ, ३१  
सुदूरपश्चिम प्रदेश
NA

कञ्चनपुर । कञ्चनपुरमा दुई सातायता गर्मी निरन्तर बढेपछि विद्यालयको बिदा बढाउन थालिएको छ । स्थानीय तहले गर्मी बढेपछि विद्यालयको बिदा बढाउन थालेका हुन् । यसअघि दिइएको विद्यालय बिदाको अवधि सकिन लागेपछि स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् । गर्मीका कारण विद्यालयमै विद्यार्थी बेहोश हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्नै अप्ठ्यारो हुन थालेपछि स्थानीय तहले बिदा थप गर्न लागेका हुन् ।

भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देखि २७ गतेसम्म विद्यालयमा बिदा दिइएको थियो । गर्मी झनै बढेपछि बर्खे वा हिउँदे बिदाबाट मिलान गर्ने गरी बिदा अवधि थप गरिएको उनले बताए । नगर क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालयलाई वैकल्पिक प्रणालीबाट सिकाइ गर्ने व्यवस्था मिलाउन विद्यालयमा परिपत्र समेत गरिएको उनको भनाइ छ । ‘गर्मी अत्यधिक बढिरहेकाले विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको अवस्थालाई ध्यानमा राख्दै बिदा थप गरेका छौं,’ उनले भने ।  

गर्मी बढेकै कारण शुक्लाफाँटा, वेदकोट, कृष्णपुर, बेलौरी, दोधारा चाँदनी नगरपालिकासँगै बेलडाँडी र लालझाडी गाउँपालिकाले समेत सामुदायिक विद्यालयमा बिदा दिएका छन् । वर्षा नहुँदा कञ्चनपुरमा दिउँसोको तापक्रम ४५ देखि ४७ डिग्रीसम्म पुग्ने गरेको छ । दिउँसोको बेला बाह्य क्षेत्रमा हिँड्डुल गर्न समेत निकै कठिन हुने गरेको छ । गर्मीका कारण बजार क्षेत्रमा हुने चहलपहलमा समेत निकै कमी आएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement