ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अमेरिकी डलर अहिलेसम्मकै महँगो, एक डलर किन्न १२५.१६ रुपैयाँ तिर्नुपर्ने

२०७९ असार, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उच्च शोधनान्तर घाटाले विदेशी मुद्रा सञ्चितिमा दबाब परिरहेका बेला अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

डलरको तुलनामा भारतीय रुपया (भारू) कमजोर भएपछि नेपाली रुपैयाँ पनि ऐतिहासिक रूपमा कमजोर हुन पुगेको हो ।  भारतीय मुद्रासँग नेपाली रुपैयाँको विनिमयदर स्थिर छ, जसले गर्दा भारू कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । भारू बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ । 

नेपाल राष्ट्र बैंकले मंगलवारका लागि प्रतिडलर विनिमयदर १२५ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ । यो हालसम्मकै उच्च हो । आइतवार र सोमवार डलरको विनिमयदर १२४ रुपैयाँ ८४ पैसा तोकिएको थियो । 

रूसले युक्रेनमाथि सैन्य कारबाही गरेपछि अन्तरराष्ट्रिय बजारमा डलरको भाउ लगातार उकालो लागिरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन र पेट्रोलियम पदार्थको मूल्य पनि उँभो लागिरहेको छ । अन्तरराष्ट्रिय स्तरमै डलरको मूल्य बढेपछि भारतीय र नेपाली बजारमा असर परेको हो । 

डलर महँगो हुँदा स्वदेशमै उत्पादन गर्न सकिने सामान्य कृषि वस्तुदेखि ठूलाठूला मेशिन औजार, मोटरगाडी, हवाईजहाज, औषधि, यन्त्र उपकरणसम्म आयात गर्ने नेपालमा हरेक चिजको भाउ बढ्छ । अब हामीले भान्छामा प्रयोग दाल, तेल, मसलादेखि लत्ता कपडासम्मका लागि बढी रकम खर्च गर्नुपर्ने हुन्छ । गत वैशाखको महँगी दर ७ दशमलव ८७ प्रतिशत पुग्नुमा डलरको बढ्दो विनिमयदरको पनि हात छ । 

महँगो डलरले इन्धनको मूल्य बढाउने हुँदा त्यसको असर ढुवानी भाडामा पर्छ । यसले गर्दा स्वदेशमै उत्पादन हुने वस्तुहरू पनि महँगिनेछन् । जलविद्युत्, निर्माणलगायत ठूला परियोजनाले प्रयोग गर्ने मेशिन औजार पनि डलर नै तिरेर आयात गर्नुपर्ने हुँदा त्यस्ता आयोजनाको लागत बढ्नेछ । सरकारले विदेशबाट लिएको ऋणको साँवाब्याज पनि डलरमै भुक्तानी गर्नुपर्छ । डलरको यो मूल्यवृद्धिले सरकारमाथिको वित्तीय दायित्व थपिनेछ । 

डलरको मूल्यवृद्धिले विदेशमा कार्यरत नेपालीका परिवारलाई भने लाभ हुनेछ । डलरको भाउ बढेका बेला विदेशमा हुनेले उत्ति नै रकम पठाउँदा पनि यता परिवारले पाउने रकम बढी हुन्छ । त्यसैगरी, महँगो डलरले पर्यटन क्षेत्रलाई पनि लाभ पुग्छ । नेपाल घुम्न आउने भारतबाहेक अन्य मुलुकका नागरिकले डलर नै खर्च गर्ने हुँदा विदेशीलाई सेवा दिने होटेल, रेस्टुराँ, वायुसेवा कम्पनीलाई फाइदा हुन्छ । तर, डलर खर्च गर्ने विदेशी पर्यटकको आगमन औसत रहेकाले यसपालिको महँगो डलरबाट पर्यटन क्षेत्रले ठूलो लाभ लिन भने सक्ने छैन । 

विदेशी विनिमयको तुलनामा स्वदेशी मुद्रा कमजोर हुँदा फाइदा हुने अर्को क्षेत्र निकासीमूलक उद्योग हुन् ।

उनीहरूले विगतकै मूल्यमा सामान पठाउँदा पनि बढी रकम हात पार्छन् । नेपालको निर्यातको आकार निकै सानो भएकाले यसबाट लाभ लिने क्षेत्र पनि सानै छ । 

विदेशी मुद्रा सञ्चिति घट्दै गएका कारण पछिल्लो समय सरकार र नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न विभिन्न नीति अख्तियार गर्दै आएका छन् । राष्ट्र बैंकका अनुसार २०७९ वैशाख मसान्तमा नेपालसँग ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ । यो २०७८ असारको तुलनामा १८ प्रतिशतले कम हो ।

यसैगरी अमेरिकी डलरमा सञ्चिति २०७८ असारमा ११ अर्ब ७५ करोड रहेकोमा २०७९ वैशाखमा २१ दशमलव १ प्रतिशतले घटेर ९ अर्ब २८ करोड कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ को १० महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.३४ महीनाको वस्तु आयात र ६.५७ महीनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकको भनाइ छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x