ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बजेटका विभेद र त्रुटि तत्काल सच्याउन उद्योगीको माग

२०७९ असार, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेटमा स्वदेशी उद्योगहरूलाई निरुत्साहित गर्नेगरी ल्याइएका त्रुटिगत नीति तत्काल सच्याउन उद्योगीहरूले माग गरेका छन् ।

स्यानिटरी प्याड र बिलेट आयातमा लागेको अन्तःशुल्कमा गरिएको व्यवस्था तत्काल सच्याउन सम्बन्धित उद्योगीहरूले माग गरेका हुन् ।

मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्यानिटरी प्याड उत्पादन संघका अध्यक्ष डोरनाथ अधिकारी र साखः ग्रूप (साखः स्टील) का निर्देशक किरण साखःले आफ्ना माग पूरा नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

सरकारले तयारी स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महशुल घटाउँदा यसको कच्चापदार्थ आयातमा भने उच्च भन्सार महशुल तोकेको साखःले बताए । यसबाट स्वदेशी उत्पादकहरू मारमा परेको र उद्योग नै बन्द हुने अवस्था सृजना भएको गुनासो उनले गरे । ६ हजारले रोजगार पाएको स्यानिटरी प्याड उद्योग सरकारले बजेटमार्फत लिएको गलत नीतिका कारण धराशयी बनेको उनले बताए ।

नेपालका उद्योगलाई धराशयी बनाउँदै सरकारले विदेशी प्याडलाई प्रोत्साहन गर्ने नीति लिएको भन्दै साखःले आपत्ति व्यक्त गरे । देश स्यानिटरी प्याड उत्पादनमा आत्मनिर्भर हुँदाहुँदै पनि विदेशी सामग्री भित्र्याएर नेपाली उद्योग चल्ने नसक्ने अवस्थामा पुर्‍याइएको उनले बताए ।

आफूहरूले उठाएको जायज माग सरकारले सम्बोधन गर्नुपर्ने प्याड उत्पादन संघका अध्यक्ष अधिकारीको भनाइ छ । उपभोक्तालाई सस्तो पर्ने देखाएर सरकारले विदेशी सामानमा १ प्रतिशतमात्र अन्तःशुल्क लिएको भन्दै उनले तत्काल निर्णय सच्याउन सुझाव दिए । 

यस्तै साखःले डण्डीको पुरानो समस्या अझै पनि सरकारले सम्बोधन नगरेको बताए । उपभोक्तालाई सस्तो पर्ने भन्दै सरकारले बढाएको अन्तःशुल्कको विरोध गर्दै उनले उक्त नीतिले उपभोक्तालाई कुनै पनि फाइदा नहुने जिकीर गरे ।

सरकारले उद्योगीहरूको माग सम्बोधन गर्ने विश्वास रहेको उनले बताए । ‘आज नभए भोलि अनि यो सरकारले नभए अर्को सरकारले हाम्रो माग पूरा गर्नैपर्छ । हामीले जायज माग उठाएका छौं,’ उनले भने । सरकारले मनन गरेर उद्योगीहरूको माग सुन्नुपर्ने उनले बताए । सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाउन नहुने भन्दै गलत नीति तत्काल सच्याउनुपर्नेमा जोड दिए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x