असार १, काठमाडौं । केही समयदेखि शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ ।
बुधवार पनि नेप्से परिसूचक २९ दशमलव ८९ अंक घटेर १ हजार ९६६ दशमलव ३६ विन्दुमा झरेको हो । ३ हजार २०० पुगेको बजार १ हजार ९०० को हाराहारीमा आउँदा लगानीकर्ताले अर्बौ गुमाएका छन् ।
यस्तो अवस्थामा नियामक निकायले लगानीकर्ताको हकहितमा केही नीतिगत परिवर्तन गर्नुपर्ने देखिन्छ । बजार सुधारको माग राख्दै लगानीकर्ता तिलक कोइरालाले आजदेखि आमरण अनसनमा बसेका छन् ।
के बजार सुधारका लागि अनसननै बस्नु पर्ने हो त भन्ने प्रश्न उठ्न थालेका छन् । यस्तो अवस्थामा नियामक निकायले केही वास्ता गरेको देखिदैन ।
विशेषगरी नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको ४–१२ करोडको सीमा कारण बजार प्रभावित बनेको लगानीकर्ताहरुको बुझाइ छ । शेयरधितो कर्जामा लगाएको सीमा खारेजी सहित १९ बुँदे माग गर्दै लगानीकर्ताहरु जेठ २३ गतेदेखि आन्दोलनरत रहेका छन् ।
बुधवार कारोबारमा आएका २२९ ओटा धितोपत्रको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर ३० हजार ६०२ पटकमा रू. १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये आँखुखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । आँधीखोला लघुवित्तको शेयरमूल्य रू. ४९३ दशमलव २० र सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य रू. ४२० दशमलव ४० पुगेको हो ।
बुधवार सबैभन्दा बढी बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८ दशमलव ७६ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २५० मा झरेको हो । त्यसैगरी दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत घटेर रू. १ हजार ११० मा झरेको छ ।
सर्वाधिक शेयर खरीदविक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. १२ करोड ५७ लाख बराबरको शेयर खरीद विक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८६५ पुगेको छ ।
त्यसैगरी, सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरी लिमिटेडको रू. ५ करोड २८ लाख बराबरको भएको छ । कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी व्यापार समूहको समूहगत परिसूचक २ दशमलव ५० प्रतिशत घटेको छ ।
त्यसैगरी, अन्य समूहको शून्य दशमलव शून्य ३ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ६४ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ८६ प्रतिशत र लघुवित्त समूहको परिसूचक १ दशमलव ५७ प्रतिशतका दरले घटेको हो ।
त्यसैगरी, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत,जीवन बीमा समूहको २ दशलमव शून्य १ प्रतिशत, लगानी समूहको २ दशमलव ४२ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव ३२ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशलमव ५४ प्रतिशत, वित्त समूहको २ दशमलव शून्य २ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ५६ प्रतिशत र बैंकिङ समूहको समूहगत परिसूचक १ दशमलव २७ प्रतिशतका दरले घटेको हो ।