असार १, विराटनगर । प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/ ०८० का लागि कुल ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका छन्।
प्रदेश नं १ को प्रदेश सभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम मन्त्री आङ्बोले बुधवार सदनमा राजस्व र व्ययको अनुमान पेश गरे। प्रस्तुत राजस्व र व्ययको अनुमानमा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब १५ करोड १५ लाख रुपैयाँ र संघीय अनुदान बचत फिर्तातर्फ २ अर्ब रुपैयाँ रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट ११ अर्ब ८८ करोड २४ लाख रुपैयाँ, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ८२ लाख रुपैयाँ, सःशर्त अनुदानबाट ८ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ, समपूरक अनुदानबाट ९२ करोड रुपैयाँ र विशेष अनुदानबाट ४७ करोड ५० लाख रुपैयाँ गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट ३५ अर्ब ९६ करोड ६० लाख रुपैयाँ खर्च बेहोर्ने बताइएको छ ।
बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब ५१ करोड ५५ लाख रुपैयाँ तथा वैदेशिक अनुदानबाट २५ करोड ६८ लाख रुपैयाँ बेहोर्ने बजेटमा उल्लेख छ ।
प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरु निर्धारण गर्दा कर आधारको संरक्षण गरी करको दायरा विस्तार गर्ने, राजस्व प्रशासनलाई प्रविधिमैत्री जनाई प्रक्रियागत सरलीकरण गर्ने, कर परिपालना र कर सहभागिता अभिवृद्धि गर्ने, राजस्व प्रशासनमा संलग्न जनशक्तिको क्षमता विकास गर्ने र सरोकारवालासँगको समन्वयमा राजस्व चुहावट नियन्त्रण गर्ने राजस्व परिचालन नीति अङ्गीकार गरेको बताइएको छ । रासस
हेर्नुस् पूर्णपाठ :