ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ऊर्जामा अन्योल

२०७९ असार, २  
सम्पादकीय
Image Not Found

नेपालमा उत्पादित विद्युत् बढीभन्दा बढी खपत गर्ने कि निर्यातलाई प्राथमिकता दिने भन्नेमा विवाद भइरहे पनि नेपालबाट अहिले ३६४ मेगावाट विद्युत् भारततर्फ निर्यात भइरहेको छ ।

स्वदेशका उद्योगले आफूलाई चाहिने बिजुली नपाउनु विडम्बना हो । यसलाई नेपालको ऊर्जाको रणनीति र कार्यनीतिको बेमेलको परिणति हो भन्न सकिन्छ ।

ऊर्जा विकासमा यो ठूलो उपलब्धि भए पनि नेपालकै उद्योगहरूले विद्युत् प्राप्त गर्न नसकेको अवस्था पनि छ । यसरी स्वदेशका उद्योगले आफूलाई चाहिने बिजुली नपाउनु विडम्बना हो । यसलाई नेपालको ऊर्जा रणनीति र कार्यनीतिको बेमेलको परिणति हो भन्न सकिन्छ ।

बारा–पर्साका उद्योगहरू विद्युत् आपूर्तिको अनियमितता समस्याले हैरान छन् । नेपाल विद्युत् प्राधिकरणको ६६ केभीको प्रसारण लाइनबाट आपूर्ति लिएका ठूला उद्योगमा विद्युत् आपूर्ति नियमित नहुँदा उनीहरूको उत्पादनसमेत प्रभावित भएको छ । यस क्षेत्रमा रहेका फलाम उद्योगहरू यसको बढी मारमा परेका छन् । फलाम उद्योगमा अकस्मात् हुने विद्युत् अवरोधबाट उत्पादनको गुणस्तर र मेशिनमा समेत असर पर्ने हुन्छ । त्यसैले विद्युत् अनियमित भएपछि उनीहरूले उत्पादन नै बन्द गर्नु परेको छ । उद्योगहरूमा गुणस्तरीय विद्युत्को अभाव भयो भने उद्योग फस्टाउने भन्ने हुँदैन ।

अहिले मागभन्दा बढी विद्युत् उत्पादन भएकाले निर्यातका लागि प्राधिकरणले बजार खोजिरहेको देखिन्छ । विदेशमा विद्युत् विक्री गर्नसक्दा चौतर्फी प्रशंसा पाइने भएकाले पनि प्राधिकरणको नेतृत्वले यसमा जोडबल गरेको देखिन्छ, जुन सकारात्मक हो । तर, यससँगै प्राधिकरणले पहिला स्वदेशमा विद्युत्को उपयोग गर्ने व्यवस्थालाई बलियो बनाउनुपर्छ, जुन अहिलेसम्म हुन सकेको छैन ।

पहिलो त उद्योगहरूले गुणस्तरीय विद्युत् पाउन सकेका छैनन् । यो समस्या बारा–पर्साका उद्योगहरूमा मात्र नभई अन्यमा समेत रहेको छ । त्यस्तै उद्योगहरूले मागे अनुसारको विद्युत् उपलब्ध गराउन पनि प्राधिकरण असफल देखिन्छ । सिमेन्ट उद्योगहरूले गुणस्तरीय विद्युत् आपूर्तिको सुनिश्चितता भए क्षमता विस्तार गर्ने बताएका छन् । तर, प्राधिकरणले प्रसारण लाइनको समस्या देखाएर विद्युत् उपलब्ध गराउन सकेको छैन । विद्युतीय गाडी, चूल्होको प्रयोग बढ्न सकेको छैन ।

सस्तो विद्युत् पाए नेपालमा थुप्रै उद्योग खुल्ने सम्भावना छ । विद्युत्का कारण लागत कम पर्न गई उत्पादनहरू प्रतिस्पर्धी बन्न सक्छन् । त्यसैले औद्योगिक उत्पादन बढाउन उद्योगहरूलाई नियमित विद्युत् आपूर्तिको प्रत्याभूति दिन सक्नुपर्छ । यसो भएमा नेपालमा उद्योगहरू खुल्ने क्रम बढ्नेछ । तर, उत्पादन, प्रसारण र वितरणको जिम्मा एक्लै ओगटिरहेको प्राधिकरणले प्रसारण लाइन र वितरणको व्यवस्था राम्रोसँग मिलाउन सकिरहेको छैन । पिक आवरमा विद्युत् खपत अलिक बढी भए वितरण प्रणालीमा समस्या आउने गरेको छ । प्रसारण लाइन पनि आवश्यकताअनुसार बन्न सकेको छैन । सानो क्षमताको प्रसारण लाइनका कारण विद्युत् आपूर्ति अनियमित हुने गरेको छ । बारा–पर्सा क्षेत्रमा विद्युत् अवरोध भइरहनुको कारण पनि यही हो ।

प्राधिकरणलाई खण्डीकरण गरेर तीनओटै कामका लागि अलगअलग कम्पनी बनाउन सरकारले कानून बनाए पनि प्राधिकरण कर्मचारीकै कारण काम हुन सकेको छैन । नयाँ कम्पनी खडा भए पनि त्यसले काम गर्न पाइरहेको छैन । यसरी नेपालको विद्युत् क्षेत्रमा उत्पादन भएर पनि विद्युत् आपूर्तिमा समस्या रहेको देखिन्छ । त्यसैले यो विडम्बनाको अन्त्य हुने गरी काम गर्न ढिला गर्नु हुँदैन ।

विद्युत् उत्पादन निकै जोखिमपूर्ण हुन्छ । नेपालजस्तो कमजोर भूबनोटमा बनेका विद्युत् आयोजनाहरूको जोखिम रक्षावरण गर्न बीमा गर्नु अनिवार्य हुन्छ । तर, आयोजनाहरूको बीमामा पुनर्बीमा हुन नसक्दा यसको बीमा प्रभावित भएको छ । विगत ५ वर्षमा नेपालका जलद्यिुत् आयोजनाहरूमा अत्यधिक क्षति भएपछि पुनर्बीमा कम्पनीले बीमा गर्न मानिरहेका छैनन् । यो समस्या समाधानका लागि बीमा समितिले आयोजना गरेको छलफलमा समेत विवाद हुँदा बीमक संघले छलफल नै बहिष्कार गर्‍यो । जलविद्युत् आयोजनाहरूको बीमा कुनै पनि हालतमा रोकिनु हुँदैन । बीमा नभएको अवस्थामा लगानी समेत जुट्दैन । साथै, आयोजनामा कुनै क्षति भए त्यसको जोखिम कम गर्न बीमा हुन नसके यस क्षेत्रमा लगानी नआउन पनि सक्छ ।

अत: बीमा समितिले आवश्यक व्यवस्था गरी जलविद्युत् आयोजनाहरूको बीमा गराउने वातावरण तयार पार्नुपर्छ । नेपालमा निकै सम्भावनायुक्त देखिएको ऊर्जाक्षेत्रको विकासका लागि देखिएका अन्योललाई हटाउन सक्ने हो भने पनि धेरै प्रगति हात लाग्ने सम्भावना छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x