असार २, काठमाडौं । बीमा क्षेत्रकै पहिलो मर्जर एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सबीच हुने भएको छ ।
बीमा कम्पनीहरुको पूँजी वृद्धिको अभियानका बीच यतिबेला कम्पनीहरुले मर्जरलाई प्राथमिकता दिएका हुन् । वैशाख २२ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीहरूले बिहीवार विशेष साधारण सभा सम्पन्न गरी मर्जर प्रस्ताव पारित गरेका हुन् ।
एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरी यी दुई कम्पनी एक हुन लागेका हुन् ।
मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार हुने गरी विशेष साधारण सभाबाट अनुमोदन भएको छ ।
यस वर्ष वितरण गर्ने निर्णय गरेको ६ प्रतिशत बोनस शेयरपश्चात् एभरेष्ट इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब २५ करोड ४६ लाख २० हजार कायम भएको छ भने हिमालयन जनरल
इन्स्योरेन्सको ६ दशमलव ६५ प्रतिशत बोनसपश्चात् चुक्तापूँजी रू. १ अर्ब १७ करोड ३५ लाख ९ हजार पुगेको छ । बीमा समितिले तोके अनुसार निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५० करोड पुग्नु पर्नेछ ।
आगामी साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी कम्पनीहरूको छ । मर्जपछि बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा बिजय बहादुर शाह हुने र वरिष्ट प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम रहने सहमति कम्पनीहरूबीच भएको छ ।
चैत मसान्तसम्ममा एभरेष्ट इन्स्योरेन्सको जगेडा कोषमा रू. ३३ करोड ९ करोडभन्दा र बीमा कोषमा रू. ४६ करोड ६८ लाखभन्दा बढी रकम सञ्चित रहेको छ ।
त्यस्तै सोही अवधिसम्म हिमालयन जनरल इन्स्योरेन्सको जगेडा कोष रकम रू. २२ करोड ९५ लाखभन्दा बढी र बीमा कोषमा रू. ६७ करोड ४ लाखभन्दा बढी रकम रहेको छ ।
वित्तीय अवस्था मजबुत रहेका दुवै कम्पनीको लाभांश वितरणको अवस्था पनि सन्तोषजनक मान्नु पर्दछ । हालसम्मको इतिहासमा एभरेष्ट इन्स्योरेन्सले अधिकतम २० प्रतिशतसम्म लाभांश वितरण गरेको छ भने हिमालयन जनरल इन्स्योरेन्सले अधिकतम २१ दशमलव शून्य ५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ ।
यस वर्ष भने गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट एभरेष्ट इन्स्योरेन्सले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेको छ ।
एभरेष्टले वैशाख २१ गते सम्पन्न २७औं वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत हुन बाँकी रहेको छ । त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
गत फागुन ३० गते २८औं वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर हिमालयन जनरल इन्स्योरेन्सले भने वैशाख १९ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई कारोबार योग्य बनाइसकेको छ ।