ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

संसद् हो कि रंगमञ्च ?

२०७९ असार, ३  
पाठक विचार
NA

संविधानतः संसद् सर्वोच्च संस्था हो, जसले कानूनको निर्माण गर्छ । सरकार संसद्प्रति जिम्मेवार हुन्छ र सांसदहरू जनताप्रति । यही लोकतन्त्रको आधार भनिँदै आएको छ । तर, पछिल्ला दिनहरूमा जनप्रतिनिधिको आचरण, बोली र व्यवहार हेर्दा भने संसद् भनेको ठट्टा गर्ने रमाइलो स्थानमात्रै हो । न सरकार विषयप्रति संवेदनशील छ न जनप्रतिनिधि नै संसदीय आचरणप्रति समर्पित । यो जागीर खाने मेसोजस्तै भएको छ । भत्ता बुझ्ने र कहिलेकाहीँ उट्पट्याङ कुरा बक्नेका मात्रै हुने गरेको छ । संसद्मा बोल्ने कुरामा न अध्ययन न त तथ्य नै । सरकार पनि त्यस्तै छ । हचुवाका भरमा जवाफ दिने र जिम्मेवारी नलिने प्रवृत्ति दिनप्रतिदिन बढ्दो छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको जिम्मेवारीमा रहेका प्रधानमन्त्री देउवा बिहीवार संसद्मा जवाफ दिने बेला देखिनुभएन । तर, प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिए ।

नेपालले अमेरिकासँग सैन्य समझदारी गरेको हो कि होइन भन्नेमा फरकफरक विचार सरकार, सेना, रक्षामन्त्री, प्रधानमन्त्री, प्रतिपक्ष दल र अमेरिकी दूतावासबाट आइरहेको पाइन्छ । कुन सत्य हो भन्ने कुरा पत्याउने आधार केही पनि देखिँदैन । संसद्जस्तो गरिमामय स्थलमा मन्त्रीले झूटो बोलेका हुन् कि प्रतिपक्षले झूटो बोलेको हो जनता रनभुल्ल छन् । अर्थमन्त्री जनार्दन शर्माले आफूले करमा बेइमानी नगरेको दाबी संसद्को रोस्टममा उभिएर गरे । तर, सबैजसो सञ्चारमाध्यमले उनले गल्ती गरेको बताउँदै आएका छन् । यदि सञ्चारमाध्यम गलत हो भने उनले कानूनी उपचार खोज्न सक्थे तर त्यसो गरेनन् ।

यी केही उदाहरण हुन्, संसद्ले आफ्नो मर्यादा भुल्दै गएकोे । यो प्रवृत्तिले लोकतन्त्र बलियो होइन, सखापै हुन्छ । त्यही भएर जनतामा लोकतन्त्रप्रति वितृष्णा पैदा भएको देखिन्छ । आफूलाई संसदीय लोकतन्त्रको एकमात्र रखवाला ठान्ने नेपाली कांग्रेसले संसद्लाई झनै बदनाम गर्ने काम गरेको छ । उसले संसदीय अभ्यासलाई बढीभन्दा बढी पारदर्शी, जिम्मेवारयुक्त बनाउनुपर्नेमा बेलाअनुसार बोल्ने र स्वार्थअनुसार प्रयोग गर्ने गरेको छ । उनीहरूले संसद्को गरिमा बचाउने गरी काम गरेको कमै पाइन्छ ।

सुदीक्षा कार्की
मण्डिखाटार, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x