काठमाडौं । अमेरिकामा रहेको नेपाल टी कलेक्टिभले नेपालमा चियाका १० हजार बिरुवा रोप्ने भएको छ । विश्वभरका १० हजार ग्राहकलाई नेपाली चिया पुर्याएको अवसरमा पाँचथरको फिदिमबाट बिरुवा रोप्ने अभियानको थालनी गरिएको कम्पनीले बताएको छ ।
यस वर्षको विश्व वातावरण दिवसको दिन कम्पनीले पाँचथरको फिदिमबाट पहिलो चरणमा सिद्धदेवी चिया बगान इलामको सहयोगमा चियाका १ हजार बिरुवा रोपेर अभियान शुरू गरेको हो । मेशिनको प्रयोगविना ठूलो परिमाणमा बिरुवा रोप्न अप्ठ्यारो भएकाले बाँकी ९ हजार बिरुवा मेशिन खरीद गरेर रोपिने कम्पनीकी व्यवस्थापक रितु राजवंशीले जानकारी दिइन् ।
उनका अनुसार बाँकी बिरुवा पाँचथर र इलाममा रोपिनेछ । नेपाल टीको ‘प्रत्येक विक्री बराबर एउटा बिरुवा रोप्ने प्रतिबद्धता’ जलवायु परिवर्तनको असरसँग लड्ने रणनीतिक कदम भएको उनले बताइन् । अहिले रोपिएका चियाका १ हजार बिरुवाले डिजेल तथा पेट्रोलद्वारा सञ्चालित सवारीसाधन २० हजार ६४२ माइल दूरीमा गुड्दा उत्सर्जन हुने परिमाणको कार्बन उत्सर्जनलाई सन्तुलनमा राख्ने दाबी गरिएको छ ।
कम्पनीले सन् २०१६ देखि नेपालबाट उच्च गुणस्तरको अग्र्यानिक अर्थोडक्स चिया विश्व बजारमा निर्यात गर्दै आएको छ । संस्थाले करीब १० लाख नेपाली किसानको आर्थिक उत्थानमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।