काठमाडौं । नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकासमा सहकार्य गर्न थाइल्यान्डलाई आग्रह गरेको छ । नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफसँग बिहीवार भएको भेटमा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले थाइल्यान्डमा नेपालको हस्तकला विकासमा सहकार्य गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष शाक्यले थाइल्यान्डमा बर्सेनि आयोजना हुने ‘जेम एन्ड ज्वेलरी एक्स्पो’ जस्ता हस्तकला व्यापार मेलामा नेपाली हस्तकला व्यवसायीलाई सहभागी गराउन अनुरोध गरेको महासंघले जानकारी दिएको छ । ‘यस्ता मेलाले थाइल्यान्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन र अवलोकन गर्न मद्दत पुग्ने विश्वास महासंघले लिएको छ,’ उनले भने ।
उनले बैंककमा उत्पादित हस्तकलाको बारेमा नेपाली हस्तकला व्यवसायीले राम्रो जानकारी पाउने भएकाले एकआपसमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । महासंघको वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्लीरत्न तुलाधरले थाइल्यान्ड सरकारबाट नेपाली सम्पदाको निर्माणमा सहयोग पुग्ने अपेक्षा राखे ।
भेटमा नेपालका लागि थाइल्यान्डका राजदूत भोरासाफले थाइल्यान्डमा नेपाली हस्तकलाको राम्रो बजार भएकाले नेपालको हस्तकला विकासमा थाइल्यान्ड सरकारले सधैं सहकार्य गर्न तयार रहेको बताएका थिए । रासस