ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

फेडको आक्रामक ब्याजदर वृद्धिले आर्थिक मन्दीको सम्भावना बढाउँदै 

२०७९ असार, ३  
अन्तरराष्ट्रिय समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले मुद्रास्फीति नियन्त्रण गर्न गर्नु पर्ने जति सबै कुरा गर्छु भनेर वाचा गरेका छन् । चार दशकयताकै ताजा स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न फेडले बुधबार आक्रामक रुपमा ब्याजदर बढायो । महँगी नियन्त्रण गर्न फेडले केही महीना अघि देखि नै ब्याजदर कसिलो पारिरहेको छ । तर अहिलेसम्म महँगी  नियन्त्रण गर्न फेडले चालेको कदम निष्प्रभावी भएको छ । 

माग घटाउन फेडले आक्रामक रुपमा ब्याजदर बढाइरहँदा फेडले अर्को काम पनि गर्नु पर्ने देखिएको छ । त्यो हो आर्थिक मन्दी आउने अवस्था टार्ने । मेमा एक वर्ष अघिको तुलनामा अमेरिकामा महँगी सोचेभन्दा निकै खराब रह्यो । अनपेक्षित स्तरमा महँगी बढेपछि बुधबार फेडले पनि आक्रामक बन्दै शून्य दशमलव ७५ प्रतिशतले ब्याजदर बढायो । फेडले सन् १९९४ यता ब्याजदर यो स्तरमा बढाएको थिएन । 

शुक्रबार मुद्रास्फीतिको तथ्यांक सार्वजनिक हुनु अघि ब्याजदर वृद्धि शून्य दशलमव ५० प्रतिशत मात्रै रहने व्यापारी तथा अर्थशास्त्रीहरुले अनुमान गरेका थिए । यति मात्रै होइन आगामी दिनमा पनि महँगी नियन्त्रण गर्न आक्रामक रुपमा ब्याजदर बढाउने फेडले बताएको छ ।

यति सबै गरेर फेडले अमेरिकी अर्थतन्त्रलाई लय गुम्न नदिइकन मुद्रास्फीति २ प्रतिशतमा झार्ने आशा गरिएको छ । तर यो काम फेड अध्यक्ष जेरोम पावेलले अहिलेसम्म बताएको भन्दा अलिक जटिल र जोखिमयुक्त बन्दै गइरहेको छ । 

फेडले हरेक पटक ब्याजदर बढाउनुको अर्थ उपभोक्ता र व्यवसायका लागि कर्जाको लागत बढी हुँदै जानु हो । जति पटक ब्याजदर बढ्छ उति नै पटक सम्भावित क्रेताका लागि कर्जा महँगो हुँदै जानेछ । यसले एकातिर उपभोक्ता र व्यवसायिक मनोबल खस्काउनेछ भने अर्कातिर आर्थिक वृद्धिदर कमजोर बनाउनेछ अनि समग्रमा आर्थिक ताकत क्षिण हुँदै जानेछ । ब्याजदर बढाएर बिना आर्थिक मन्दी मुद्रास्फीति सहज स्तरमा झार्न थप चुनौतीपूर्ण बन्दै गइरहेको छ । 

सन् १९९० को दशकको मध्यमा पनि फेडले महँगी नियन्त्रण गर्न आक्रामक रुपमा ब्याजदर बढाएको थियो । त्यति बेला पनि फेडको सेफ ल्यान्डिङको प्रयास सफल नभएको तपाईमध्ये कति जनालाई याद छ ? फेडले ब्याजदर २ प्रतिशतमा झार्न जे जे गर्नु पर्ने हो सबै गर्ने भनेर बताइरहेको भएपनि यस्तो गर्नु नपरोस् भन्ने केही अर्थशास्त्रीहरु बताउँछन् । यसको ठूलो मूल्य चुकाउनु पर्ने हो कि भन्ने चिन्ता स्टेट स्ट्रिट ग्लोबल एड्भाइजर्सकी प्रमुख अर्थशास्त्री सिमोना मोकुटाको छ । 

अहिले आर्थिक मन्दी आउन सक्ने जोखिम आधा आधा भएको मोकुटाको धारणा छ । मन्दी टार्नै सक्ने बाटो नै नभएको त होइन तर यसो गर्नु निकै कठिन भएको उनी बताउँछिन् । उच्च ब्याजदर वृद्धिको केही न केही क्षति हुन्छ भन्ने कुरा फेडले पनि नबुझेको होइन । यद्यपि, मन्दी नै निम्तन्छ भन्ने पूर्वानुमान भने फेडको छैन ।  यो वर्ष अमेरिकी अर्थतन्त्र १ दशमलव ७ प्रतिशतले बढ्ने फेडको अनुमान छ ।

पछिल्लो पटक फेडले वृद्धि प्रक्षेपण यस अघिको भन्दा एक प्रतिशतभन्दा धेरैले घटाएको भएपनि अर्थतन्त्र बढ्छ नै भन्नेमा उ ढुक्क छ ।
बेरोजगारी दर पनि वर्षको अन्त्यमा औसतमा ३ दशमलव ७ प्रतिशत रहने अपेक्षा फेडको छ । आफूहरुले मन्दी नै निम्त्याउन भने नखोजेको बुधबार पावेलले पत्रकार सम्मेलनमा भनेका थिए । इतिहास हेर्ने हो भने हरेक पटक  आर्थिक वृद्धिदर नै मार्ने गरी फेडले गरेको आक्रामक ब्याजदर वृद्धिले अन्ततः महँगी त नियन्त्रण गर्न सकेको छ । तर यसले मन्दीलाई पनि निम्त्याएको छ । सन् १९५५ यताकै इतिहास हेरौं न ।

हरेक पटक मुद्रास्फीति ४ प्रतिशत माथि उक्लिएको अनि बेरोजगारी दर ५ प्रतिशत भन्दा तल रहेको समयमा दुई वर्षभित्रै अर्थतन्त्र मन्दीमा गएको छ । 

अहिले अमेरिकामा बेरोजगारी दर ३ दशमलव ६ प्रतिशत छ । मुद्रास्फीति पनि मार्चयता हरेक महीना ८ प्रतिशत माथि रहँदै आएको छ । सन् १९८० को दशकको शुरुयता अमेरिकामा मन्दी नियन्त्रित अवस्थामै छ । कोरोना भाइरसका कारण सृजित मन्दीबाट अर्थतन्त्रमा अनपेक्षित पुनःबहाली आएपछि एक वर्ष अघि अमेरिकामा पुनः मुद्रास्फीति बढ्यो ।

आर्थिक पुनःबहाली होला भनेर व्यवसायहरुले पनि आशा गरेका थिएनन् । कोरोना भाइरसको महामारीबीच आपूर्ति शृङ्खलामा अवरोध देखियो । माग सुस्ताउने आशामा धेरै कम्पनी र व्यवासयले आफ्नो लगानी कटौती गरे । 

तर अमेरिकामा अप्रत्याशित रुपमा आर्थिक गतिविधि बढ्न थालेपछि अभाव देखिन थाल्यो, ढुवानीमा ढिलाई हुन थाल्यो अनि पछिल्लो समय रुसले युक्रेनमा हमला गरेपछि विश्वभरबाट रुसमाथि लगाइएको प्रतिबन्ध, कृष्ण सागर भएर हुने ढुवानीमा अवरोध, चीनको कोभिडको संक्रमण अनि विश्वका कयौं देशहरुले घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न कयौं खाद्य वस्तुको निर्यातमा रोक लगाउनुको परिणतीले विश्वभर कच्चा तेल देखि खाने तेलसम्म अनि खाद्यान्नसम्म धेरै सामानको भाउ बढयो । अन्ततः यी सबैको असर अमेरिकी बजारमा देखियो । 

पहिला नै न्यानो भइसकेको अर्थतन्त्रमा १९ खर्ब डलरको स्टिमुलस कार्यक्रम ल्याएर अमेरिकी राष्ट्रपति जो बाइडेनले गर्मी बढाइदिए । महामारीबाट अर्थतन्त्रलाई उकास्न दुई वर्षअघि ब्याजदर शून्यको स्तर राख्ने फेडको निर्णय अनि ऋणपत्र किनेर अर्थतन्त्रमा तरलता प्रवाह गरिरहने अर्थात् खुकुलो मौद्रिक नीतिलाई निरन्तरता दिने निर्णय गरेर फेडले अर्को गल्ती गर्यो । तीन महीना अघि मात्रै फेडले ब्याजदर बढाउने थालेको हो ।

फेडले मुद्रास्फीति घट्छ भनेर स्पष्ट र विश्वासिलो प्रमाण नदेख्दासम्म ब्याजदर बढाइरहने भनेर मेमा पावेलले भन्न थालेका थिए । त्यति बेलासम्म अमेरिकाको आर्थिक पुनःबहाली गायब भइसकेको थियो । संघीय सरकारको राहत भुक्तानी सिध्ईसकेको थियो ।  सरकारले सबै नागरिकको खातामै हालिदिएको चेकका कारण बढेको अमेरिकीहरुको बचत पनि घटेर महामारी पूर्वकै स्तरमा ओर्लियो । पछिल्लो समय महँगीले अमेरिकीहरुको क्रय शक्ति घटाइरहेको छ ।

सामान महँगो भएपछि अमेरिकीहरुसँग पसल र अनलाइनमा खरिदारीमा खर्च गर्ने पैसा पनि कम भएको छ । महँगीसँग समायोजन गर्ने हो भने गत वर्षको सोही अवधिको तुलनामा गएको महीना अमेरिकीहरुको औसत घन्टे तलब लगातार घटेको छ । वास्तविक तलबमा आएको यो लगातार १४ औं मासिक कमी हो । मेमा डिसेम्बरयता पहिलो पटक खुद्रा विक्री पनि घटेको छ । 

ब्याजदर वृद्धिले आर्थिक गतिविधि झनै खुम्चने छ । भाउ घट्छ अनि किनौंला भनेर क्रेताहरुले खरिदारी थाँती राख्नेछन् । व्यवसायहरुले पनि ऋण लिन बढी खर्च गर्नु पर्नेछ । फेडको ब्याजदर वृद्धि पछि लगानीकर्ताहरुले यूएस टे«ेजरी किन्न थाल्नेछन् अनि यसको असरले गर्दा डलर महँगो हुनेछ । डलर महँगो भएपछि यसको मार उल्टै अमेरिकी कम्पनी र अर्थतन्त्रमा पर्नेछ । विदेशमा अमेरिकी सामान महँगो हुनेछ अनि विक्री गर्न कठिन हुनेछ । अमेरिकामा बाहिरबाट आयात गर्न सस्तो हुने भएकोले महँगीको चाप केही कम गर्न चाँहि मद्दत मिल्नेछ । 

हुन त अहिले अमेरिकी अर्थतन्त्र बलियो नै छ । रोजगारी बजार बढिरहेको छ । गएको एक वर्षमा अमेरिकी रोजगारदाताहरुले औसतमा ५ लाख ४५ हजार नयाँ कर्मचारी भर्ती गरिरहेका छन् । बेरोजगारी झन्डै ५० वर्षयताकै न्यून स्तरमा झरेको छ । अहिले हरेक बेरोजगार अमेरिकीको लागि करीब २ ओटा नयाँ जागिर खुलिरहेको छ । सन् २००७÷०९ को महामन्दीको बेलाको जस्तो अहिले घर परिवार कर्जामा चुर्लम्म डुबेका छैनन । न त बैंक वा अन्य कर्जादार्ताहरु नै त्यति बेला जस्तो थु्रपो जोखिमयुक्त ऋण दिएर बसेका छन् । 

तर, यति हुँदा हुँदै पनि मन्दीको जोखिम बढिरहेको बताउँछन् पीजीआईएम फिक्स्ड इन्कमका प्रमुख लगानी रणनीतिज्ञ रोबर्ट टिप । यो जोखिम फेडको ब्याजदर वृद्धिले गर्दा मात्रै चाँहि नबढेको उनको धारणा छ । मुद्रास्फीति हत्तपत्त घटाउनै नसक्ने गरी आकाशिनु पनि यसको अर्को कारण हो । यसले गर्दा पनि मन्दी ननिम्त्याइकन महँगीमा अंकुश लगाउने काम फेडको लागि झनै कपटपूर्ण बनेको छ । ब्याजदर बढाएर महँगी नियन्त्रण गर्नु फेडको लागि मसिनो डोरीमा नलडिकन हिड्नु जस्तो भएको अनि यो त्यति सहज नहुने आरबीसी वेल्थ म्यानेजमेन्टमा वरिष्ठ पोर्टफोलियो रणनीतिज्ञ थोमस गर्रेट्सन बताउँछन् । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x