असार ४, काठमाडौं । नेपाल उद्योग परिसंघ र राष्ट्रिय ऊर्जा दक्ष केन्द्र बीच ऊर्जासम्बन्धी गतिविधिमा सहकार्य गर्न शुक्रवार सम्झौता भएको छ ।
ऊर्जा दक्षता, ऊर्जा लेखापरीक्षण, क्षमता अभिवृद्धि र उद्योगहरूको ऊर्जासम्बन्धी सेवाहरूको विकास र कार्यान्वयनका लागि हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार उद्योगहरूमा ऊर्जा दक्षता र ऊर्जा परीक्षणको जागरूकता बढाउन दुवै संस्थाले उद्योगहरूको ऊर्जा क्षेत्रमा ऊर्जा दक्षता, ऊर्जा परीक्षण र क्षमता विकासका गतिविधिमा मद्दत गर्ने बताएका छन् ।
सझौता पत्रमा परिसंघका महानिर्देशक दीपकराज जोशी र केन्द्रका प्रबन्ध निर्देशक अमृत अभामणि ढकालले हस्ताक्षर गरेका हुन् । परिसंघले सन् २०१९ देखि उद्योगहरूमा ऊर्जा दक्षता प्रवर्द्धन गर्दै आएको छ भने केन्द्रले हरितगृह ग्यास उत्सर्जन घटाउने, रोजगारी सृजना गर्ने, बढ्दो ऊर्जाको माग पूरा गर्ने उद्देश्यका साथ हरित ऊर्जा र ऊर्जा दक्षता क्षेत्रमा पनि काम गरिरहेको छ ।