असार ४, काठमाडौं । पूँजीबजार सम्बद्ध लगानीकर्ताहरुले शनिवार अपरान्ह विरोध र्याली तथा जनसभा गर्ने तयारी गरेका छन् ।
शेयर लगानीकर्ताहरुले आफ्ना मागहरु पुरा हुनुपर्ने भन्दै उक्त विरोध कार्यक्रम गर्न लागेका हुन् । केहि दिनयतादेखि शेयर लगानीकर्ता तिलक कोइराला नेपाल धितोपत्र बोर्डमा आमरण अनसनमा बसेका छन् ।
उनको समर्थन र आफ्ना १९ बुँदे माग पुरा गराउन सरकारलाई दबाब दिने उद्धेष्यले शेयर लगानीकर्ताहरुले अपरान्ह १ बजे धितोपत्र बोर्ड क्षेत्रमा र्याली तथा जनसभा गर्न लागेका हुन् ।
शेयर लगानीकर्ता संघर्ष समिति सम्बद्ध लगानीकर्ताहरुले काठमाडौंलगायत मुलुकभर दुई सातादेखि नै आन्दोलन गर्दै आएका छन्।
लगानीकर्ताको आन्दोलनमा विभिन्न राजनीतिक दलका नेताहरुले पनि अहिले चासो देखाउन थालेका छन् । उता त्यसो त नेपाली काँग्रेसका नेता तथा सांसद गगन कुमार थापा तथा नेकपा(एमाले) का सांसद योगेशकुमार भट्टराईले त सरकारले शेयर बजारमा देखिएको समस्या समाधान गर्न सरकारलाई ध्यानकर्षणसमेत गराइसकेका छन् ।