ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सामाजिक सुरक्षा कोषले दाबी भुक्तानी गर्‍यो १ अर्ब ४३ करोड, १८ अर्ब ८३ करोड योगदान रकम संकलन        

२०७९ असार, ४  
समाचार
Image Not Found

असार ४, काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब रुपैयाँ  भुक्तानी गरिसकेको छ ।

कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा १ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई १९ करोड ४५ लाख ६ हजार ९७९ रुपैयाँ  र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत १ करोड ९१ लाख ३१ हजार १०६ रुपैयाँ  दाबी भुक्तानी दिएकोे हो ।     

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २१० योगदानकर्ताका परिवारलाई ३ करोड ३ लाख ६६ हजार ३९३ रुपैयाँ  र वृद्ध अवस्था सुरक्षा योजनाबापत १७ हजार ७७२ योगदानकर्तालाई १ अर्ब १९ करोड १३ लाख १८ हजार ५७० रुपैयाँ  भुक्तानी गरिएको कोषले बताएको छ ।

कोषले योगदानकर्तालाई चार वटा सुविधा उपलब्ध गराउँदै आएको छ ।विसं २०६७ चैत ७ गते स्थापना भएको कोषले २०७५ मंसिर ११ गतेदेखि योजना कार्यान्वयनमा ल्याएको थियो । रोजगारदाताका तर्फबाट २० र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ ।

त्यसरी जम्मा गरिएको योगदान रकममध्येबाट एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, १ दशमलव ४ प्रतिशत दुर्घटना र अशक्तता सुरक्षा योजना, शून्य दशमलव २७ प्रतिशत आश्रित परिवार सुरक्षा योजना र २८ दशमलव ३३ प्रतिशत वृद्धावस्था सुरक्षा योजनामा बाँडफाँट हुनेछ । वृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको २८ दशमलव ३३ प्रतिशतमध्येबाट निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश योजनामा ८ दशमलव ३३ प्रतिशत जम्मा हुने व्यवस्था मिलाइएको छ ।

निवृत्तिभरण योजनामा जम्मा भएको रकम निश्चित समयपछि योगदानकर्ताले आवश्यक परेको अवस्थामा निकाल्न सक्नेछन् । कोषमा हालसम्म १८ अर्ब ८३ करोड  रुपैयाँ  योगदान रकम संकलन भएको छ । जेठ मसान्तसम्म कोषमा ३ लाख ४० हजार ८४६ योगदानकर्ता सूचीकृत भएका छन् । सो अवधिमा १७ हजार १३० रोजगारदाता आबद्ध भएको कोषले बताएको छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x