असार ४, नयाँदिल्ली (भारत) । भारतको सरकारी बीमा कम्पनी लाइफ इन्सुरेन्स कर्पोरेशन (एलआईसी) ले आफ्ना लगानीकर्ताहरुलाई निराश बनाएको छ ।
दोस्रो बजारमा सूचीकृत भएयतादेखि नै कम्पनीको शेयरमूल्य निरन्तर घटिरहेको छ । बजारमा सूचीकृत भएको एक महीना पनि नपुग्दै कम्पनीको शेयरमूल्य ३२ प्रतिशतले घटिसकेको छ । आईपीओ जारी हुँदा एलआईसीको शेयर मूल्य प्रतिकित्ता ९४९ भारु थियो ।
शुक्रवार मात्रै कम्पनीको शेयरमूल्य २ प्रतिशत घटेर प्रतिकित्ता ६५४ दशमलव ३५ भारु कायम भएको छ । यो अवधिमा कम्पनीका लगानीकर्ताहरुले ठूलो राशी गुमाएका छन् ।
यो एशियामा सबैभन्दा धेरै गुमाउने यस वर्षको आईपीओ मध्ये एक रहेको छ । मे १७ मा शेयर बजारमा कम्पनीको शेयर कारोबार शुरु भएयता शेयर मूल्य ३२ प्रतिशतले घटिसकेको छ ।
भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओका रुपमा रहेको एलआईसी दक्षिण कोरियाको एलजी इनर्जी सोलुसन लिमिटेडपछि अहिले बजार पूँजीकरण गुमाउने मामिलामा दोस्रो स्थानमा रहेको ब्लुम्बर्गको तथ्यांकले देखाएको छ । एलआईसीको आईपीओ यस वर्ष एशियाको सर्वाधिक असफल शेयरमा परेको छ ।
कम्पनीको शेयरमूल्यप्रति लगानीकर्ताको लगातारको निराशाप्रति कम्पनीको अध्यक्ष एमआर कुमारले भने एउटा अन्तरवार्तामा कम्पनीको शेयरमूल्य घटिरहेको भएपनि यो समय शेयर खरीद गर्ने उचित समय भएको बताएका छन् ।
उनले मूल्य घट्ने बेलामा खरीद गर्ने र बढेको बजारमा शेयर खरीद गर्ने यो सही समय भएको पनि बताएका छन् । उनले अवस्था सधैं एकनास नहुने भन्दै बजारमा सुधारको अवस्था चाँडै आउने र लगानीकर्तालाई नहातारिन पनि भनेका छन् । एजेन्सी