असार ४, काठमाडौं । बहुऔषधीय गुण भएको गानोडोर्मा (रातो) च्याउको व्यवसायिक उत्पादन गरी नेपाली बजारमा विक्री वितरण शुरु गरिएको छ ।
पाल्पाको तानसेन–८ जरेपिपलमा रहेको भैरब च्याउ उद्योग प्रालिले उत्पादन गरेको उक्त रातो च्याउको काठमाडौंको बालाजुस्थित गुराँस खाद्य उद्योग प्रालिले विक्री वितरण शुरु गरेको हो । उक्त उद्योगले ‘पाल्पाली जाग्यो रहर, काठमाडौंलाई बनाउने रातो च्याउको शहर’ नारा तय गरेको छ ।
गानोडोर्मा (रातो) च्याउ एक लोकप्रिय औषधीय गुण भएको बहुउपयोगी च्याउ हो । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइएको छ । स्वास्थ्य र आयु प्रत्याशामा प्रवर्द्धन प्रभावको कारण यो च्याउ प्राय मानव चिकित्सामा प्रयोग गरिदै आएको छ । यो च्याउलाई आधुनिक ल्यावमा उत्पादन गरी विक्री वितरणमा ल्याएको कम्पनीका अध्यक्ष केशब बहादुर कार्कीले जानकारी दिएका छन् ।
अध्यक्ष कार्कीका अनुसार यो च्याउ नेपालको जंगलमा पनि पाइन्छ । यसको आकार पंखा जस्तै फैलिएको हुन्छ । यो च्याउ अरु च्याउ जस्तो नरम र मीठो हुँदैन । यो काठ जस्तो साह्रो हुन्छ र स्वाद पनि तीतो हुन्छ । त्यसैले यो च्याउ अन्य च्याउ जस्तै तरकारी बनाएर खान सकिन्न । सुकाएको रातो च्याउको टुक्राहरु पानीमा उमालेर रस चियाको रुपमा पिउन पर्ने हुन्छ ।
उक्त उद्योगले ल्याएको रातो च्याउको खुद्रा मूल्य प्रतिकिलो २० हजार रुपैयाँ पर्ने र होलसेलमा खरीद क्षमता हेरि १२ देखि १५ हजार रुपैयाँसम्म पर्ने अध्यक्ष कार्कीले जानकारी दिए ।
कम्पनीले विगत पाँच वर्षअघिदेखि सिताके च्याउ पनि व्यवसायिक उत्पादन गरी विक्री वितरण गर्दै आएको बताएको छ ।