असार ४, काठमाडौं । नेपाल डरी एशोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं आठौंं राष्ट्रिय महाधिवेशन हेटौंडामा आगामी असार १० र ११ गते हुने भएको छ।
आयोजकका अनुसार असार १० गते हेटौंडा बजारमा जनचेतना जगाउने उद्देश्यले दूध सम्बन्धि जानकारी दिन लेखिएका प्लेकार्डसहित र्याली आयोजना गरिने छ भने अपरान्ह ३ बजे सभाको उद्घाटन हुनेछ । असार ११ गते बन्द सत्रसहित सभाले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गनै छ ।
यस पटक एशोसिएशनले देशभरिबाट आफ्ना सदस्यहरु आउने हुँदा राष्ट्रिय दुग्ध विकास बोर्डसँगको सहकार्यमा एक दिने डेरी मेलासमेत सोही स्थानमा असार १० गते बिहान १० बजेदेखि ४ बजेसम्म आयोजना गर्ने तयारी गरेको छ । मेलामा विद्यालयका विद्यार्थी एवं स्थानीयलाई सहभागी गराइने छ ।
सभामा मुलुकभरीबाट करीब २५० जना डेरी उद्योगीहरुको उपस्थिति रहने एशोसिएशनका महासचिव प्रल्हाद दाहालले बताए । अधिवेशनको तयारी लगभग सकिएको पनि आयोजकले बताएको छ ।