असार ५, काठमाडौं । पूँजीबजार सुधार र विकासका लागि आन्दोलनरत शेयर लगानीकर्ताहरुले आइतवार अपरान्ह नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गर्ने भएका छन् ।
गत जेठ २३ गतेदेखि १९ बुँदे मागसहित आन्दोलनमा उत्रिएका लगानीकर्ताहरुले राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् । अपरान्ह नक्सालस्थित भाटभटेनी नजिक गहनापोखरीमा भेला भएर दिउँसो १ बजे र्यालीसहित राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको स्वतन्त्र पूँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बताए ।
लगानीकर्ता एवं पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला गत असार १ गतेदेखि धितोपत्र बोर्ड अगाडि आमरण अनशन बसेका छन् । उनको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको लगानीकर्ताहरुले बताएका छन् ।
अहिलेसम्म सरकार र नियामक निकायले उनीहरुको माग पूरा गर्ने तर्फ कुनै पनि तत्परता नदेखाएको उनीहरुको भनाइ छ ।