असार ५, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले एच–१ बी भिसा प्रक्रिया तीव्र पार्ने भएको छ ।
त्यहाँको नागरिकता तथा अध्यागमन सेवाले निश्चित खालको एच–१बी भिसा आवेदनका प्रोसेशिङका लागि छुट्टै केन्द्र खोल्ने भएको छ । अहिले भिसा प्रोसेशिङको काम निकै बाँकी रहेकोले सो काम सम्पन्न गर्नका लागि यस्तो पहल गरिएको हो ।
यीमध्ये केही काम क्यालिफोनिर्याको केन्द्रलाई दिइएको छ । कार्यभार स्थानान्तरण गरेपछि एच–१बीको आवेदनको काम छिटो छिटो सल्टिने आशा गरिएको छ । सेवा केन्द्रहरुमा कामदार अभाव र पहिलादेखि नै थुुप्रै काम बाँकी रहेकोले सबै खालको भिसा प्रोसेसिङको काममा हालैका महीनामा ढिलाइ भइरहेको छ ।
गत महीना मात्रै एच–१बी भिसा लटरी सकिएको छ । अब लटरीबाट छानिएका आवेदकहरुले यो वर्षको अक्टोबर १ मा काम शुरु गर्न आफ्नो आवेदन बुझाउनु पर्नेछ । यी मध्ये कयौं आवेदन म्याद थपका लागि आएका छन् । आवेदन रद्द भयो भने ती आवेदकहरुले अमेरिकामा काम गर्न पाउने छैनन् ।
पूर्व अमेरिकी सांसद मिला लभले सिनेटको न्यायिक समितिमा एच–१बी भिसाको संख्या थप्न आवश्यक रहेको बताएको केही दिनमा यो कदम चालिएको हो । हरेक वर्ष अमेरिकी प्राविधिक कम्पनीहरुले आफूलाई चाहिएको योग्य विदेशी कर्मचारी नियुक्त गर्न यो भिसा प्रयोग गर्दै आएका छन् ।
यो भिसा वर्षेनी जारी हुन्छ । सन् २००५ मा ८५ हजार भिसा उपलब्ध थिए । २० वर्षपछि पनि ८५ हजार भिसा उपलब्ध छन् । पछिल्लो समय अमेरिकी प्राविधिक कम्पनीहरुको एच–१बी भिसा कार्यक्रममा निर्भरता बढेको छ ।
अमेरिकी प्रविधि उद्योग आफूलाई चाहिने सिपहरुको भर्पाई गर्न आप्रवासी कामदारहरुमा निर्भर छन् । अमेरिकी कम्पनीहरुलाई दक्ष कामदारहरुमा सहज पहुँच दिंदा मुद्रास्फीतिको समस्या सम्बोधन गर्ने र आर्थिक वृद्धिदरलाई पनि टेवा मिल्ने लभको भनाइ छ । एजेन्सी