ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भारतबाट एफपीआई बाहिरिने क्रम जारी, जुनमा पनि बाहिरियो ३ खर्ब १४ अर्ब रुपयाभन्दा धेरै

२०७९ असार, ५  
अन्तरराष्ट्रिय
Image Not Found

असार ५, नयाँदिल्ली (भारत) । पछिल्लो केही महीनयता भारतीय बजारबाट विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई) हरुले धमाधम आफ्नो लगानी फिर्ता गरिरहेका छन् ।

अमेरिकाले गरेको आक्रामक ब्याजदर वृद्धि, दशकौं यताकै उच्च स्तरमा उक्लिएको मुद्रास्फीति र शेयरको उच्च मूल्याकंन आदिका कारण विदेशी लगानीकर्ताहरुले धमाधम आफ्नो लगानी फिर्ता लगिरहेका छन् ।

यो महीनाको अहिलेसम्मको अवधिमा मात्रै पनि भारतीय शेयर बजारबाट ३ खर्ब १४ अर्ब ३० करोड बराबरको लगानी झिकिसकेका छन् ।  योसँगै यस वर्षको अहिलेसम्मको अवधिमा भारतीय पूँजीबजारबाट १९ खर्ब ८० अर्ब रुपया झिकेर लगिसकेको डिपोजिटरिजको तथ्यांकले देखाएको छ । पछिल्लो समय भूराजनीतिक जोखिम बढेको छ । विश्वभर महँगी कयौं दशकयताकै उच्च स्तरमा उक्लिएको छ ।

५ दर्जनभन्दा बढी केन्द्रीय बैंकहरुले मौद्रिक नीति कसिलो पारिरहेका छन् । यस्तोमा आगामी दिनहरुमा पनि एफपीआई प्रवाह अस्थीर रहने कोटाक सेक्युरिटिजका इक्विटी रिसर्च (खुद्रा) प्रमुख श्रीकान्त चौहानले भनेका छन् । तथ्यांकअनुसार विदेशी लगानीकर्ताहरुले जुन १७ सम्ममा भारतीय बजारबाट ३ खर्ब १४ अर्ब ३० करोड रुपया झिकेका छन् ।

लगानीकर्ताहरुले सन् २०२१ को अक्टोबरदेखि नै भारतीय पूँजीबजारबाट लगानी फिर्ता लगिरहेका छन् । यसको कारणको रुपमा श्रीकान्तले बढिरहेको महँगी, कयौं देशमा कसिलो पार्दै लगिएको मौद्रिक नीति र कच्चा तेलको भाउमा भएको उच्च वृद्धितर्फ औंल्याएका छन् । अमेरिकी केन्द्रीय बैंकले ४० वर्षकै ताजा स्तरमा उक्लिएको महँगी नियन्त्रण गर्न गएको हप्ता एकै पटक शून्य दशमलव ७५ प्रतिशतले ब्याजदर बढाएको थियो । फेडले आगामी महीना ब्याजदर कसिलो बनाउने संकेत गरेको छ ।

ब्याजदर कसिलो पार्ने क्रमसँगै आर्थिक गतिविधिहरु सुस्ताउने र अमेरिकी अर्थतन्त्रको साथसाथै विश्व अर्थतन्त्र नै मन्दीमा जाने हो कि भन्ने भय लगानीकर्ताहरुमा बढेको छ । पछिल्लो समय अमेरिकामा बलियो बन्दै गइरहेको अमेरिकी डलर र ऋणपत्रको बढ्दो प्रतिफल भारतीय पूँजीबजारबाट लगानी पलायन हुनुको मुख्य कारणमध्ये एक हो ।

फेडको साथसाथै बेलायत, अष्ट्रेलिया, स्वीटजरल्यान्डसमेत कयौं देशका केन्द्रीय बैंकहरुले ब्याजदर बढाइरहेका छन् । भारतमै पनि महँगीका कारण पछिल्लो समय चिन्ता बढेको छ । यसलाई नियन्त्रण गर्न भारतीय रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले ब्याजदर बढाइरहेको छ ।

फेडको आक्रामक ब्याजदर वृद्धिले आरबीआईलाई पनि आगामी दुई वा तीन त्रैमासमा ब्याजदर बढाउन दबाब दिने बताउँछन् मर्निङस्टार इन्डियाका म्यानेजर रिसर्चका सह–निर्देशक हिमान्शु श्रीवास्तव ।

समीक्षा अवधिमा ऋणपत्र बजारबाट पनि एफपीआईहरुले खुद २५ अर्ब ३ करोड रुपया लगेका छन् । फेब्रुअरीयता नै लगानीकर्ताहरुले ऋणपत्र बजारबाट पनि लगानी फिर्ता गरिरहेका छन् । पछिल्ला समय भारतबाटमात्रै होइन ताइवान, दक्षिण कोरिया, फिलिपिन्स र थाइल्यान्ड लगायत उदीयमान बजारहरुबाट पनि एफपीआई बाहिरिरहेको छ । एजेन्सी 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x