ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपालमा अझै पनि ६४.४ % उद्योगमा जेनेरेटर प्रयोग : उद्योग परिसंघ

२०७९ असार, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । नेपालमा सञ्चालित ६४ दशमलव ४ प्रतिशत उद्योग अझै पनि जेनेरेटरको भरमा सञ्चालन भइरहेका छन् ।

नेपाल उद्योग परिसंघले आइतवार सार्वजनिक गरेको तथ्यांकमा नियमित विद्युतको आपूर्ति हुन नसक्दा नेपालमा सञ्चालित ६४ दशमलव ४ प्रतिशत उद्योग जेनेरेटरको भरमा सञ्चालन भइरहेको उल्लेख छ ।

नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर परिसंघले सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंकमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा चालू आर्थिक वर्ष २०७८/ ७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक समेटिएको छ । प्रतिवेदनले उक्त अवधिमा उद्योगहरुले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत क्षमता उपयोग गरेको देखाएको छ ।

प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७७/ ७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्ष सोही अवधिमा उद्योगको आय वृद्धिदर २७ दशमलव १ प्रतिशत बढेको देखाएको छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता भने उपयोग सुधारोन्मुख रहेको छ ।

समीक्षा अवधिमा उत्पादनमूलक उद्योगले औसतमा ९ दशमलव ४ प्रतिशत र सेवा क्षेत्रका उद्योगले औसतमा ९ दशमलव १ प्रतिशत ब्याज तिरेका छन् । उत्पादनमूलक उद्योगहरुले आफ्नो चालू पूँजीको ४३ दशमलव ८ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ती उद्योगहरुले ५४ दशमलव १ प्रतिशत ऋण लिएका थिए ।

अध्ययनमा सहभागी मध्ये ६५ दशमलव ५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको पनि बताएका छन् । 

प्रतिवेदन सार्वजनिक गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले निजी क्षेत्रले थिंक ट्यांकको रुपमा कसरी काम गरिरहेको छ भन्ने यो प्रतिवेदनले पनि देखाएको बताए ।  

परिसंघले सुझाव मात्रै दिने नभइ उद्योगको यथार्थ चित्रणसमेत यो प्रतिवेदन मार्फत प्रस्तुत गर्न खोजेको उनले बताए  । अध्यक्ष अग्रवालले परिसंघले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x