ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पर्यटनमा हाम्रो वास्तविकता

२०७९ असार, ६  
लेख | दृष्टिकोण
Image Not Found
author avatar भीमप्रसाद पन्त

नेपालमा पर्यटनको उच्च सम्भावना भनेरै पुस्ता बितिसकेको छ । तर, पर्यटनले अपेक्षित गति लिएको छैन । संख्यात्मक रूपमा ११ लाखसम्म पर्यटक भित्रिए पनि तिनले गर्ने खर्च र औसत बसाइ हेर्दा नेपालको सम्भावनाको उपयोग भएको छ भन्न सकिँदैन । त्यसैले नेपालमा पर्यटनबारे गफ बढी र काम कम भएको छ भन्न सकिन्छ । पर्यटनबारे वस्तुनिष्ठ अध्ययन पनि भएको छैन । जनशक्ति उत्पादन गर्ने र पूर्वाधार थप्ने कुरा पनि ज्यादै कम भएको छ । विशिष्ट भौगोलिक बनोट र सांस्कृतिक विशेषता नै नेपालको पर्यटनको दिगो आधार हो । तर, त्यसलाई कसरी उपयोग गर्ने, ब्रान्डिङ गर्ने र बजारीकरण गर्ने भन्नेमा सरकारका तर्फबाट स्पष्ट खाका तयार भएको छैन । विदेशी सहयोगमा भएका अध्ययन र बनेका नीति झारा टार्ने र बजेट पचाउने खालका छन् । त्यही भएर नेपालको पर्यटन सुस्त गतिमा मात्रै अघि बढेको छ । यसो हुनुमा केही कारण छन् । हामीले पर्यटकको अपेक्षा पूरा गर्न सकेका छैनौं ।

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेे नेपालको आफ्नै आकर्षक ब्रान्डहरू निर्माण गर्न आवश्यक छ ।

स्वतन्त्रतापूर्वक निर्धक्क घुमफिर गर्न पाउने वातावरण, गन्तव्यको सुरक्षित छवि पर्यटकको मुख्य अपेक्षा हुन्छ । यस क्षेत्रमा विगतमा जस्तो राम्रो छवि कायम राख्न नेपाल सफल छैन । पर्यटकलाई झुक्याउने, सामान लुट्नेजस्ता कैयौं घटनाले नेपाली पर्यटन बदनाम पनि भएको छ । हँसिला नेपाली भन्ने परिचयको सट्टा ठग्ने नेपालीको पहिचान स्थापित हुँदै छ । समस्यामा परेका पर्यटकको खोज, उद्धार, उपचार तथा अनुगमनका लागि कार्यविधि बनाएर लागू गरिएको छ । तर, यस विषयमा गलत काम भएको तथ्य विदेशी सञ्चारमाध्यममा आएर नेपालको छवि नराम्रो भएको तथ्य यहाँनेर बिर्सनु हुँदैन ।

नेपाल आउने पर्यटक औसत अनुभवका लागि होइन, विशिष्ट अनुभव लिन आउँछन् । हामीले हाम्रा अद्भुत पर्यटकीय सम्भावनालाई पर्यटकमैत्री बनाउन सकेका छैनौं । अर्थात् हाम्रो अद्वितीय विशेषतालाई पर्यटनसँग राम्ररी जोड्न सकेकै छैनौं । ऐतिहासिक धरोहर, सांस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य सत्कार, साहसिक गतिविधि र खेलहरू एवम् नौला अवलोकनका अवसरहरू व्यवस्थित गर्न सकेका छैनौं । यसमा अध्ययन र लगानी आवश्यक देखिन्छ ।

पर्यटनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सहज र सस्तो हवाई सेवा तथा सडक यातायात, सूचनाप्रविधि, आवास, स्वच्छ पिउने पानी, सार्वजनिक शौचालय, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापनजस्ता कुरा हुन् । तर, नेपालको अन्तरराष्ट्रिय वायुसेवा नाम मात्रको छ । पर्यटन बजारमा यसको उपस्थिति छैन । विदेशी वायुसेवा महँगो भएकाले पर्यटक चाहेर पनि नेपाल आउन सकिरहेका छैनन् भने आएका पर्यटकको लाभ पनि विदेशी वायुसेवाले नै लिइरहेका छन् । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थललाई राम्ररी व्यवस्थापन गर्न सके केही वर्षमै पर्यटक बढाउन सकिन्छ । बाटाघाटा र सार्वजनिक स्थल बेहाल अवस्थामा छन् । विश्वसम्पदा सूचीमा परेका धरोहरहरूमा पनि सरसफाइ र शौचालय आदिको अवस्था दयनीय देखिन्छ ।

स्वास्थ्य र उद्धार सेवाको भरपर्दो प्रबन्ध, आतिथ्य, सेवाको स्तर, आवास, भोजन, बैंकिङ सेवा, उद्धार कार्य, सूचना केन्द्र, पथप्रदर्शन, मनोरञ्जन क्रियाकलाप आदिको सुव्यवस्था पर्यटकले हेर्ने प्राथमिक विषय हुन् । यिनमा हाम्रो व्यवस्थापन कमजोर नै छ । योग्य पथप्रदर्शकको उपलब्धता, वित्तीय सेवा, पर्यटन सूचना प्रणाली, स्वस्थकर खाना र आवासको प्रबन्ध, नेपाली संस्कारसँग जोडिएको आतिथ्यजस्ता विषयमा सघन रूपमा नै सुधारको खाँचो देखिन्छ ।

पर्यटक आगमन बढाउन मनाउने गरिएको पर्यटन वर्ष पनि कर्मकाण्डी पाराका देखिएका छन् । पर्यटनको ब्रान्डिङ नै सही तरीकाले हुन नसक्दा भ्रमण वर्षको तामझामअनुसार पर्यटक नबढेका हुन् । त्यसैले नेपालको पर्यटनमा केही न केही कमजोरी छ ।

विश्व पर्यटन बजारमा आएको परिवर्तन, पर्यटकको रोजाइ र चाहना फेरिएको विषयबारे तथ्यांकहरूको विश्लेषण गरी पर्यटन नीतिलाई चलायमान बनाइनुपर्छ । तर, नेपालको पर्यटन व्यवसायीहरूको आआफ्नो प्रयासले मात्रै अघि बढिरहेको देखिन्छ । पर्यटन व्यवसाय अगाडि बढाउने काम त व्यवसायीको नै हो तर पर्यटनलाई कस्तो खालको बनाउने, कस्ता पर्यटकलाई प्राथमिकता दिनेजस्ता कुरा भने सरकारको नीतिमा निर्भर हुन्छ । नेपालले पर्यटनका लागि भुटानबाट मात्रै पाठ सिके पनि ठूलो उपलब्धि प्राप्त हुन सक्छ । उस्तै भौगोलिक परिवेश भएर पनि सानो मुलुक भुटानले पर्यटनबाट ठूलो लाभ लिएको छ । उसको पर्यटन नीति विशिष्ट छ । तर, नेपालले त्यति पनि सिक्न नसक्नु दुर्भाग्य हो ।

विदेशी मुद्रा आर्जनका लागि पर्यटन सबैभन्दा बढी सम्भावनायुक्त क्षेत्र भनिरहँदा पर्यटन शीर्षकमा आएकोभन्दा गएको पैसा वढी देखिनु विडम्बना हो । विदेश भ्रमण गर्ने नेपालीको संख्या उच्च दरले बढेको छ । कोराना महामारीका कारण उच्च वर्गका केही नेपालीले नेपालका पर्यटकीय स्थलको भ्रमण गरेकाले आन्तरिक पर्यटनको सम्भावना बलियो भएर देखापरेको छ । तर, त्यसको व्यवस्थापन राम्ररी हुन सकेको छैन । एकातिर पर्यटकले राम्रो अनुभव लिन पाएका छैनन् भने अर्कातिर व्यवसायीले सेवा प्रदान गर्न सकिरहेका छैनन् । व्यवसायीबाट सेवा लिएर पर्यटनमा जाँदा निकै महँगो पर्छ भन्ने आमसोचाइ पाइन्छ । उनीहरू आफूखुशी हिँड्दा हैरानी बेहोर्न पुग्छन् । यसमा सुधार ल्याउन आवश्यक छ ।

पर्यटन क्षेत्रलाई दिगो, मौलिक र सार्थक बनाउन हाम्रा पर्यटकीय समस्यालाई समाधान गर्दै सम्भावना तथा अवसरहरूलाई संरक्षण, संवद्र्धन र विकास गर्न आवश्यक छ । स्थानीय तहलाई पर्यटन विकासका सन्दर्भमा बढीभन्दा बढी सचेत, सक्षम, जागरुक र क्रियाशील नबनाउँदासम्म अपेक्षित प्रतिफल सम्भव छैन । ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने गरी घरवास (होम स्टे) जस्ता पर्यटकीय क्रियाकलापको प्रवद्र्धन गर्न पनि उत्तिकै आवश्यक छ । मुख्य कुरा पर्यटनमा नयाँ सोच र नयाँ प्रडक्टका लागि सृजनात्मक नबने नेपालको पर्यटन सोम शर्माको सात्तु भनेजस्तो कल्पनाको फाइदा मात्रै नबन्ला भन्न सकिँदैन । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नेे नेपालको आफ्नै आकर्षक ब्रान्डहरू निर्माण गर्न आवश्यक छ । हाम्रा नौला स्थान, नौला क्रियाकलाप, नौला अनुभूतिप्रति पर्यटकलाई आकर्षित गर्न बजार प्रवर्द्धनका रणनीतिलाई आधुनिक बनाउनैपर्छ ।

लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x