ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कता हरायो इथानोल योजना ?

२०७९ असार, ६  
समाचार
Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल सरकारले आजभन्दा १९ वर्षअघि २०६० सालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाएर विक्रीवितरण गर्ने निर्णय गरेको थियो । पेट्रोलको मूल्य बढ्ने समस्यालाई सम्बोधन गर्न सरकारले यस्तो निर्णय गरेको थियो ।

त्यसको ११ वर्षपछि २०७१ सालमा नेपाल आयल निगमले पेट्रोलमा इथानोल मिसाउन आवश्यक पूर्वाधार नै तयार गर्‍यो । निगमको अमलेखगञ्ज डिपोमा इथानोल मिसाउने मेशिन जडान भयो । तर, पेट्रोलको भाउ घटेको भन्दै निगमले लत्तो छाड्दा उक्त योजना अलपत्र पर्न गयो । अहिले पेट्रोलमा इथानोल मिसाउन जडान गरिएका मेशिन खिया लागेका छन् । तर, पेट्रोलको भाउ आकाशिएसँगै पछिल्लो समय इथानोलको महत्त्व फेरि बढेको छ ।

इथानोल अन्न वा वनस्पतिलाई फर्मेन्टेशन गरेर बनाइने एकप्रकारको रसायन (अल्कोहल) हो । यसलाई जैविक पदार्थ (बायोमास)बाट बनेको इन्धन पनि भनिन्छ । इथानोललाई अल्कोहलयुक्त पेय पदार्थलगायत इन्धनका रूपमा प्रयोग गर्न सकिन्छ । इथानोलको अक्टोन नम्बर पेट्रोलको भन्दा बढी हुने हुँदा यसलाई पेट्रोलभन्दा बढी प्रभावकारी मानिएको हो ।

नेपालका चिनी मिलहरूले उखुको मोलासेस (खुदो) बाट इथानोल उत्पादन गर्न सक्छन् । तर, स्वदेशमा यसको माग नभएकाले चिनी मिलहरूले अधिकांश मोलासेस भारत र बंगलादेश निर्यात गरिरहेको सम्बद्ध व्यवसायीको भनाइ छ ।

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले तत्काल पेट्रोलमा इथानोल मिसाउने योजना नभएको जानकारी दिए । ‘हामीले यो योजना पहिला ल्याएका हौं । पेट्रोलको मूल्य घटेपछि त्यत्ति व्यावहारिक भएन । त्यसपछि निगम पछि हटेको हो,’ उनले भने, ‘अहिले पेट्रोलको मूल्य बढेपछि यसको महत्त्व फेरि बढ्यो । तर, मिसाउनेबारे निगमले कुनै निर्णय गरेको छैन । थप अध्ययन गरेर पुनर्विचार गर्न सकिन्छ ।’

इथानोल पेट्रोलभन्दा सस्तो हुन्छ । भारतमा यतिबेला इथानोलको मूल्य प्रतिलिटर भारू ६२ (नेपाली ९९ रुपैयाँ २० पैसा) छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनसँग प्रतिलिटर १३१ रुपैयाँ ७५ पैसाका दरले पेट्रोल किनिरहेको छ । इथानोल प्रयोग गर्दा सवारीसाधनको माइलेज पनि बढ्ने अध्ययनहरूले देखाएका छन् ।

इथानोलले पेट्रोलको तुलनामा ३५ प्रतिशत कम कार्बन मोनोअक्साइड उत्सर्जन गर्छ । यसबाट सल्फर डाइअक्साइड उत्सर्जन पनि पेट्रोल डिजेलको तुलनामा कम हुने पुष्टि भएको छ ।

छिमेकी भारतले इन्धनमा १० प्रतिशत इथानोल मिसाउन थालिसकेको छ । सन् २०२४ सम्ममा २० प्रतिशत मिसाउने उसको लक्ष्य छ । भारत सरकारले इथानोलको प्रयोग बढाउन यसमा लाग्ने जीएसटी पनि घटाएर ५ प्रतिशत कायम गरेको छ । अमेरिकी महादेशको मुलुक ब्राजिलका ४० प्रतिशत सवारीसाधन शतप्रतिशत इथानोलबाट चल्छन् । बाँकीको इन्धनमा पनि २४ प्रतिशतसम्म इथानोल मिसाइन्छ ।

क्यानडा, अमेरिका, अफ्रिका र एशियाका कैयौं देशले इथानोल इन्धन प्रयोग गरिरहेका छन् । नेपालमा भने सरकारी बेवास्ताका कारण इथानोल प्रयोग शुरू नभएको हो ।

नेपालमा वार्षिक ६ लाख किलोलिटरसम्म पेट्रोल खपत हुन्छ । नेपालको इथानोल उत्पादन क्षमताका बारेमा अध्ययन हुन बाँकी छ । चिनी उद्योगले चिनी उत्पादन गर्ने क्रममा पेल्ने उखुबाट ४ प्रतिशत खुदो (मोलासेस) निस्कन्छ । खुदोबाट इथानोल बन्छ । सरकारबाट इथानोल खरीद गर्ने ग्यारेन्टी नहुँदा नेपालका चिनी मिलहरूले मोलासेस भारत र बंगलादेश निर्यात गरिरहेका छन् । चिनी मिलको खुदो स्वदेशी मदिरा उद्योगले पनि किन्छन् ।

नेपालमा ठूलो परिमाणमा इथानोल किन्न सक्ने निकाय आयल निगम नै हो । निगमले किन्ने ग्यारेन्टी गरे आफूहरू इथानोल उत्पादन गर्न तयार रहेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् । ‘दुई चिनी मिलले इथानोल बनाउने प्लान्ट नै जडान गरेका छन् । तर, सरकारले किन्ने ग्यारेन्टी गरेको छैन,’ उनले भने, ‘सरकारले किन्ने ग्यारेन्टी गर्छ भने सबै चिनी मिल इथानोल उत्पादन गर्न तयार छन् ।

हामी पेट्रोलभन्दा निकै सस्तो मूल्यमा इथानोल उपलब्ध गराउन सक्छौं ।’ नेपालमा एक दर्जन हाराहारी चिनी मिल छन् । चिनी मिलहरूले २० वर्षदेखि नै इथानोल किनेर पेट्रोलमा मिसाउन माग गर्दै आएका छन् । ‘सरकारले इथानोल किन्ने हो भने हाम्रो आम्दानीको स्रोत बढ्ने थियो । उखु किसानले पनि राम्रो मूल्य पाउने थिए,’ अध्यक्ष अग्रवालले भने, ‘तर, सरकारले यो विषयलाई बेवास्ता गरेको देखियो ।’ नेपालमा वार्षिक २ करोड क्वीन्टलभन्दा बढी उखु उत्पादन हुन्छ । यस हिसाबले हेर्दा ठूलो परिमाणमा इथानोल उत्पादन गर्न सकिने व्यवसायी बताउँछन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नवीकरणीय ऊर्जा केन्द्रले संयुक्त रूपमा गरेको अध्ययनले इथानोल स्वदेशमा उपभोगसँगै निर्यात पनि गर्न सकिने देखाएको छ । पेट्रोलको भाउ बढेका बेला चर्चामा आएको विषयलाई निगमले पेट्रोल सस्तिएपछि बेवास्ता गरेको हो । निगमले कुनै समय प्रतिलिटर ४५ देखि ५० रुपैयाँसम्ममा पट्रोल पाउँथ्यो । त्यो बेला इथानोलको मूल्य पनि सोही बराबर हुने भएपछि निगमले उक्त योजना कार्यान्वयन नगरेको हो । नेपालमा पर्याप्त मात्रामा नपाइने र आयात गर्दा उत्ति नै खर्च हुने तर्क गर्दै निगम पछि हटेको थियो ।

गत साउनदेखि वैशाख मसान्तसम्ममा नेपालमा ५४ अर्ब ८३ करोड ९६ लाख रुपैयाँको पेट्रोल आयात भएको तथ्यांक छ । पेट्रोल नेपालमा सबभन्दा बढी आयात हुने वस्तुको दोस्रो नम्बरमा छ । पहिलो नम्बरमा डिजेल छ । गत वैशाखसम्ममा १ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी रकमको डिजेल आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x