ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पूँजीगत खर्च ३७ प्रतिशतमात्र

२०७९ असार, ६  
समाचार
Image Not Found

काठमाडौं । चालू आर्थिक वर्ष सकिन २७ दिन बाँकी छ । यो वर्ष सरकारले पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब ९० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा १ खर्ब ४० अर्ब १६ करोड रुपैयाँ मात्रै पूँजीगत बजेट खर्च भएको देखिन्छ । यो कुल पूँजीगत बजेटको ३७ दशमलव शून्य ७ प्रतिशत हो ।

सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अपनाउने भने पनि त्यसअनुसार हुन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बराबर पूँजीगत बजेट खर्च गर्ने घोषणा गरेका थिए ।

केही दिनअघि उनले सरकारी समाचार संस्था रासससँगको कुराकानीमा आगामी आर्थिक वर्षमा तोकिएअनुसार खर्च गराउन सबै उपाय अवलम्बन गर्ने बताएका थिए ।

पूँजीगत बजेट खर्च गर्ने अधिकारप्राप्त अधिकारीहरूको अक्षमताले पूँजीगत बजेट खर्च हुन नसकेको हो । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यस्तै चल्दै आएको छ । पूँजीगत बजेट खर्च गर्ने अख्तियारप्राप्त अधिकारीहरूले आफ्नो कमजोरीको दोष अरूलाई देखाएर पन्छिने गरेका छन् । विगतमा राजनीतिक अस्थिरता, बन्दहडताल, बजेट खर्च गर्ने अख्तियारीमा ढिलाइलगायतलाई दोष दिने गरेका उनीहरूको बोली अहिले फेरिएको छ । अघिल्लो आर्थिक वर्षमा कोरोना महामारी गजबको बहाना बन्यो । यसपालि पुस, माघताका देखिएको कोरोनाको तेस्रो लहर र स्थानीय तहको निर्वाचन बहाना बन्ने देखिन्छ ।

सरकारको खर्चको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले अपेक्षाकृत रूपमा विकास निर्माणको काममा खर्च गर्न सकेको छैन । असार ४ गतेसम्म सरकारको बजेट खर्च ६४ दशमलव ५५ प्रतिशत छ । त्यसमा चालूतर्फको खर्च धेरै छ । त्यसका कर्मचारीको तलब भत्ता, दैनिक खर्च जोडिएको हुन्छ ।

चालू खर्च ७७ दशमलव २ प्रतिशत पुगेको छ । त्यो भनेको ८ खर्ब २२ अर्ब ४५ करोड बराबर हो । सरकारले चालू आर्थिक वर्षमा चालूतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख खर्च गर्ने लक्ष्य राखेको थियो ।

वित्तीय व्यवस्थातर्फ हालसम्म ९१ अर्ब ३७ करोड रुपैयाँ बराबर खर्च गरिएको छ । चालू आवमा सरकारले १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख वित्तीय व्यवस्थाका लागि छुट्ट्याएको थियो । यसमा दातृ निकायलाई तिर्नुपर्ने ऋणको साँवा र ब्याज हुन्छ । सरकारले विभिन्न दातृ निकायसँग लिएको ऋण तिर्ने विभिन्न समयसीमा हुन्छ । सोही आधारमा दायित्व भुक्तानी गर्नुपर्छ । यसमा लक्ष्यको ४८ दशमलव २४ प्रतिशत खर्च भएको छ ।

सरकारले चालू वर्षमा ११ खर्ब ८० अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म ९ खर्ब ४८ अर्ब २० करोड संकलन गरेको छ । यो लक्ष्यको ८० दशमलव २३ प्रतिशत हो । त्यसमा कर राजस्व ८ खर्ब ७८ अर्ब ३३ करोड छ । यसमा भन्सारलगायत राजस्व समावेश छन् । चालू आवमा कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड संकलन गर्ने सरकारको लक्ष्य छ । राजस्व संकलन लक्ष्यको ८२ दशमलव २४ प्रतिशत पुगेको छ ।

त्यस्तै गैरकरतर्फ १ खर्ब १२ अर्ब ६३ करोड रुपैयाँ लक्ष्य रहेकामा हालसम्म ६९ अर्ब ८७ करोड संकलन भएको छ । यो लक्ष्यको ६२ दशमलव शून्य ४ प्रतिशत हो । यस्तै वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९२ करोड लक्ष्य रहेकोमा १३ अर्ब ८८ करोड प्राप्त भएको छ ।

अर्थमन्त्री शर्माले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा चालू आर्थिक वर्षको अन्त्यसम्म कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड पुग्ने संशोधित अनुमान प्रस्तुत गरेका छन् । उनले चालू खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड, पूँजीगत खर्च ३ खर्ब ९ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड खर्च हुने संशोधित अनुमान प्रस्तुत गरेका छन् ।

चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमै (११ खर्ब ५२ अर्ब ४२ करोड) हुने अनुमान छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालू आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालू आर्थिक वर्षमा २ खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x