ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

२ सातामा २० रुपैयाँ बढ्यो चिनीको मूल्य, चिनी मौज्दात ३० हजार टनमात्र

२०७९ असार, ६  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । आगामी साउनपछि बजारमा चिनी अभाव हुने सम्भावना रहेको उद्योगीहरूले बताएछन् ।

भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा हुने आयात रोकिएकाले अभावको सम्भावना बढेको उनीहरूको भनाइ छ । उद्योगीका अनुुसार अहिले उनीहरूसँग करीब ३० हजार मेट्रिक टनमात्रै चिनी मौज्दात छ ।

यस वर्ष स्वदेशी उद्योगले १ लाख ३१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका थिए । हालसम्म १ लाख १ हजार टन खपत भइसकेको र ३० हजार टनमात्रै बाँकी रहेको नेपाल चिनी उत्पादक संघले जानकारी दिएको छ । सरकारी अनुदानको चिनी आयात र विक्री गर्ने साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि मौज्दात शून्य भएकाले भारतले निर्यात खुुला नगरेको खण्डमा साउनपछि बजारमा चिनीको हाहाकार हुुन सक्ने संघको भनाइ छ ।

संघका महासचिव राजकुुमार अग्रवालले तत्काललाई चिनी अभाव नभए पनि साउन अन्तिमदेखि अभाव बढ्दै जाने बताए । ‘नेपालमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुन्छ । तर, स्वदेशी उत्पादन १ लाख ३१ हजार टनमात्रै हुँदा हामीलाई करीब १ लाख १९ हजार टन नपुग हुन्छ । भारतीय प्रतिबन्धका कारण व्यापारीले आयात गर्न गाह्रो छ । त्यसकारण अभाव हुने निश्चित जस्तै छ,’ उनले आर्थिक अभियानसँग भने ।

२ सातामा २० रुपैयाँ मूल्य बढ्यो
भारतले निर्यात प्रतिबन्ध लगाएको २ सातामा नेपालमा चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँ बढेको छ । भारत सरकारले गत जेठ १८ गते आन्तरिक बजारमा चिनीको मूल्य बढ्न सक्ने सम्भावना औंल्याउँदै निर्यात रोकेको थियो । नेपाल खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार भारतले निर्यातमा प्रतिबन्ध लगाएलगत्तै नेपालमा चिनीको मूल्य उकालो लाग्न थालेको हो ।

संघका महासचिव अमूलकाजी तुलाधरले दिएको जानकारीअनुसार २ साता अघिसम्म खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँसम्ममा विक्री भइरहेको चिनीको भाउ अहिले १ सय १० रुपैयाँसम्म पुगेको छ ।

‘उद्योगीले मूल्य बढाएर बेच्न थालेपछि हामीले पनि आफ्नो लागतअनुसार मूल्य लिएका हौं,’ उनले भने । चिनी उत्पादक संघले अहिले लागत थपिएका कारण मूल्य बढाएर बेच्नुपरेको बताएको छ ।

संघका महासचिव अग्रवालले ढुुवानी भाडासँगै श्रमिकको ज्यालालगायत कुरा बढ्दा लागत बढ्न भएकाले स्वाभाविक रूपमा मूल्य बढेको दाबी गरे । गत बिहीवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारी, उद्योगी र सरोकारवाला निकायलाई बोलाएर चिनीको मूल्य बढ्नुको कारणबारे स्पष्टीकरण मागेको थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x