ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएमबि बैंकको मर्जर योजना छैन, मुलुकमा कम्तीमा २० ओटा वाणिज्य बैंक चाहिन्छ : गोल्यान

२०७९ असार, ६  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा आकर्षित गर्ने प्रयास गरिरहेका बेला बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) का अध्यक्ष पवनकुमार गोल्यानले भने संख्या २० भन्दा तल झार्न नहुने बताएका छन् ।

आर्थिक अभियान दैनिकसँगको कुराकानीमा उनले सर्वसाधारणले पाउने सेवाको प्रभावकारिताका लागि पनि बैंकहरूको निश्चित संख्या आवश्यक हुने बताए । 

‘ग्राहकले पाउने सेवासुविधाको दृष्टिकोणले हेर्दा नेपालमा वाणिज्य बैंकको संख्या २० भन्दा घट्नु हुँदैन,’ गोल्यानले भने, ‘त्यसमा कृषि विकास बैंक, एसबीआई, स्ट्याण्डर्ड चार्टर्डलाई जोड्नु हुँदैन ।’ नेपालमा १० देखि १५ ओटा हुँदा बैंक सञ्चालनमा सजिलो भए पनि यसले बजारमा एकाधिकार हुनसक्ने र यसबाट सेवाग्राहीले पाउने सुविधामा असर पर्नसक्ने उनले दाबी गरे । 

जेठ दोस्रो साता गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई बोलाएर असारभित्रै मर्जरमा जान र आगामी आर्थिक वर्षबाट मर्जरका लागि सुविधा दिन नसक्ने बताएका थिए । त्यसयता चार ओटा बैंकले एकआपसमा गाभिनका लागि सम्झौता गरिसकेका छन् । 

केही समयअघि नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले पनि वाणिज्य बैंकको संख्या १५ भए पुग्ने देखाएको थियो । अहिले संख्या घटाउने र पछि लाइसेन्स दिने प्रवृत्ति रहेको भन्दै गोल्यानले ग्राहकको हित संरक्षणका लागि पनि बैंकको संख्या निश्चित  हुनुपर्नेमा जोड दिए । एनएमबि(NMB) बैंकका अध्यक्षसमेत रहेका गोल्यानले उक्त बैंकको मर्जर योजना नभएको र बरु भारतीय बैंकलाई भित्र्याउन लागेको योजना सुनाए । विदेशबाट ऋण ल्याउनमा अग्रणी एनएमबिले ३० अर्ब रुपैयाँ ऋण ल्याउने तयारी गरेको समेत उनले जानकारी दिए ।

विदेशी संस्थाबाट ऋण लिनका लागि उनीहरूले गर्ने ड्यु डेलिजेन्स अडिट (डीडीए) प्रक्रिया अप्ठ्यारो र लामो हुने भएकाले तरलता अभाव भयो भन्दैमा आजको भोलि पैसा ल्याउन नसकिने उनले बताए । 

बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरूदण्ड भए पनि यसको आलोचना बढी भएको गोल्यानको गुनासो छ । गाउँगाउँका सर्वसाधारणले ओछ्यानमुनि लुकाएर राखेको ४९ खर्ब रुपैयाँ बैंकिङ च्यानलमा जम्मा गर्नुका साथै उत्पादनशील क्षेत्रमा लगानी गरेको उनले बताए । बैंकको राम्रो काममा भन्दा गलत काममा सरोकारवाला केन्द्रित भएको र एउटा बैंकले गलत गर्दा सबैलाई अप्ठ्यारो पर्ने गरी नीति बन्ने गरेको उनले गुनासो गरे । बैंकको लगानीअनुसार प्रतिफल घटेको भन्दै गोल्यानले थपे, ‘अहिले बैंकको आरओआई १० प्रतिशत हाराहारी छ, ३ वर्षमा यो ६ प्रतिशतमा झर्न सक्छ ।’

नेपालमा धितोमा आधारित कर्जा अधिक हुँदा खराब कर्जा कम हुनु सामान्य भएको गोल्यानले बताए । आगामी दिनमा भने खराब कर्जा केही वृद्धि हुन सक्ने उनको अनुमान छ । बैंकिङ उद्योग आर्थिक मेरूदण्ड भएको भन्दै देशको आवश्यकताअनुसार बैंकिङ क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक अध्ययनका साथै नीतिगत छलफल गर्न सिबिफिन स्थापना गरिएको गोल्यानले बताए । सिबिफिनमार्फत बैंक तथा वित्तीय संस्थाको अवस्था, रेमिट्यान्स (विप्रेषण) लगायत विषयमा अध्ययन गरेको र त्यसैका आधारमा दिएको सुझाव केही कार्यान्वयन पनि भएको उनले बताए । 

नेपालमा विप्रेषण बढाउन विप्रेषण पठाउनेको परिवारलाई प्राथमिक शेयरमा १० प्रतिशत कोटा छुट्ट्याउन सिबिफिनले दिएको सुझाव सरकारले कार्यान्वयन गरेको गोल्यानले बताए । विप्रेषण बढाउन विदेश जानुअघि बैंक खाता खोल्ने, वित्तीय साक्षरतासम्बन्धी तालीम दिने काम पनि आवश्यक भएको उनले बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ramram

[Jun 20, 2022 11:30am]

Sahi ho.



   

Nepali PatroRiddhi Siddhi Cement
x