ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पेट्रोलियम पदार्थको मूल्य बढाउनु सरकारको बाध्यता : उद्योग मन्त्री बडू

२०७९ असार, ६  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

असार ६, काठमाडौं ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री बडूले अन्तरराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले सरकार बाध्यतामा परेर मूल्य बढाउनुपरेको बताए ।

उनले पेट्रोलियम पदार्थ नेपालको उत्पादन नभएकाले बाहिरबाट महँगोमा खरीद गर्नुपरेको र सस्तोमा बेच्न सक्ने अवस्थामा सरकार नरहेको बताए । मन्त्री बडूले सरकारले बढेर आएको मूल्यमा कर घटाएर १० रुपैयाँ मूल्य कम गरेको पनि बताए । उनले सरकारले विगतमा लगाएको कर कम गरेर उपभोक्तलाई अझ सस्तोमा तेल दिने प्रयास गरिरहेको पनि बताए ।

उनले सरकारले तत्कालको लागि १० रुपैयाँभन्दा बढी घटाउन सक्ने स्थितिमा नरहेको जिकिर गरे । उनले असार २ गते आएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ पैसा पुगेको बताए । 

सरकारले १० रुपैयाँ घटाएर १९९ रुपैयाँ कायम गरिएको उनको भनाइ छ । मन्त्री बडूले पेट्रोल र डिजेलमा मूल्य बढाए पनि ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यासको मूल्य नबढाएको बताए । नेपाल आयल निगमलाई अहिले प्रत्येक महीना ९ अर्ब ६३ करोड रुपैयाँ घाटा रहेको दाबी गरे ।

उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशभित्र भएका उद्योगको क्षमता विकास र रुग्ण उद्योग सञ्चालन गर्ने गरी आएको दाबी पनि गरे । उनले अहिले नेपालमा भएका राष्ट्रिय उद्योगहरु ७० प्रतिशतभन्दा बढी क्षमता चल्न नसकेको अवस्था रहेको बताए । उनले भएका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आएमात्रै राष्ट्रिय उत्पादन बढ्ने बताए ।

उनले उद्योगहरुलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने क्रममा समस्या भएमा र उद्योगीको मागलाई सम्बोधन गर्न सरकार तयार रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रम अनुसार नयाँ आर्थिक वर्ष लागेको एक महीनाभित्र नै रुग्ण उद्योग सञ्चालन मोडालिटि ल्याउने तयारी भइरहेको बताए । 

यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले सरकारले किसानहरुलाई सहजरुपमा जनतालाई मल उपलब्ध गराउने प्रयास गरिरहेको बताए । उनले त्यसको लागि भारत सरकारसँग कुराकानी भएको र भारत नेपाललाई चाहिने मल दिन तयार भएको समेत बताए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x