ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

इथानोलमा बेवास्ता

२०७९ असार, ७  
सम्पादकीय
Image Not Found

नेपालमा पेट्रोलियम पदार्थको विक्रीवितरणमा एकाधिकार पाएको नेपाल आयल निगमले यसको मूल्यवृद्धि गर्न पाउँदा समस्या नदेख्ने र मूल्यवृद्धि गर्न नपाउँदा विकल्प खोज्ने गरेको पाइन्छ ।

पेट्रोलमा इथानोल मिसाउँदा मूल्यवृद्धिमा राहत मिल्ने मात्र होइन, चिनी उद्योगलाई समेत टेवा मिल्छ । इथानोल उत्पादनको प्रमुख आधार उखु उद्योग नै हो ।

निगमले विकल्प खोजेर पनि स्वचालित मूल्य प्रणाली लागू गरेपछि उपेक्षा गरेको विषय हो, पेट्रोलमा इथानोल मिसाउने नीति । मूल्य उच्च बढेर व्यापारघाटाको आँकडा निकै माथि गए पनि निगमले यो योजनालाई प्राथमिकता दिएको पाइँदैन । विश्वका धेरै मुलुकले इथानोललाई पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गरिरहेका छन् । यो तथ्य थाहा पाउँदा पनि ऊ उदासीन बन्नु रहस्यपूर्ण देखिन्छ ।

पेट्रोलियम खनिज ऊर्जा हो जसबाट वायु प्रदूषण निकै बढेको छ । यसलाई कम गर्न अहिले विश्वभरि विद्युतीय सवारीलाई प्राथमिकतामा राखिएको छ । तर, नेपाल भने व्यवहारत: यो नवीन सोचप्रति पूरै उदासीन छ भन्न सकिन्छ । पेट्रोलको मूल्य सोमवार मात्रै २१ रुपैयाँ बढेको छ । पेट्रोलियमको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडादर पनि बढाइएको छ । यसले बहुआयामिक महँगी बढाउँछ । तर, निगमलाई व्यापार गर्न पाए पुग्छ, अन्य विषयप्रति उसको चासो देखिँदैन । पेट्रोलमा इथानोल मिसाउने योजनाप्रतिको उदासीनता यसको उदाहरण हो ।

पेट्रोलमा इथानोल मिसाउँदा मूल्यवृद्धिमा राहत मिल्ने मात्र होइन, चिनी उद्योगलाई समेत टेवा मिल्छ । इथानोल उत्पादनको प्रमुख आधार उखु उद्योग नै हो । यद्यपि चामल, मकै, गहुुँका अधिशेषबाट पनि इथानोल र जैविक इन्धन बनाउन सकिन्छ । उखु क्रशिङ गर्दा चिनीसँगै छुवा (मोलासिस) बगास र पेस्ट मल तयार हुन्छ । प्रतिक्वीन्टल उखु क्रशिङ गर्दा ५ किलो मोलासिस अर्थात् इथानोल तयार हुन्छ । नेपालमा वार्षिक २ करोड क्वीन्टलभन्दा बढी उखु उत्पादन हुने अनुमान छ । इथानोल पेट्रोलमा मिसाउने नीति लिए चिनी उद्योगलाई राहत मिल्ने र प्रतिस्पर्धी क्षमतासमेत बढ्ने देखिन्छ । चिनी मिललाई उत्पादन विविधीकरण गर्न मद्दत मिल्छ । त्यसैले चिनी उद्योगहरू यसका लागि तयार छन् तर निगम नै यसबाट पछि हटेको छ ।

निगमले २०६० सालमा नै पेट्रोलमा इथानोल मिसाउने योजना बनाएको हो । १० प्रतिशत इथानोल मिसाउँदा पेट्रोलको लागत केही कम पर्छ । तर, निगमले यस्तो कार्य गर्न उपयुक्त ठानेन । मुलुकलाई हुने फाइदाभन्दा आफूलाई सजिलो हुने काम गर्दा नै यो योजना अलपत्र परेको हो । निगमले इथानोल मिसाउन आवश्यक मेशिन जडानसमेत गरेको थियो । तर, मूल्यमा खासै फरक नपर्ने भन्दै ऊ यस योजनाबाट पछि हटेको छ । अहिले पेट्रोलियमको मूल्य निकै बढेर व्यापारघाटा उच्च भई विदेशी विनिमय सञ्चितिमा दबाब परेको छ । पेट्रोलियमको खपत कसरी घटाउने भन्ने टाउको दुखाइको विषय बनेको छ । तर, सानै आकारको भए पनि एउटा राम्रो विकल्पका लागि भने सरकार र निगम दुवैको चासो देखिँदैन ।

चिनी उद्योगहरू पनि इथानोल उत्पादन गर्न तयार छन् । निगमको निर्णयसँगै केही उद्योगले यसका लागि तयारी पनि गरेका थिए । तर, निगम यसबाट पछि हटेपछि उनीहरूको लगानी खेरसमेत गएको छ । उनीहरूले अहिले मोलासिस भारत र बंगलादेशतर्फ निकासी गर्दै आएका छन् । ती देशले पेट्रोलमा १० प्रतिशत इथानोल मिसाइरहेका छन् । भारतले अब २० प्रतिशत मिसाउने तयारी थालेको छ । त्यस्तै शतप्रतिशत इथानोलबाट गाडी चलाउने तयारी पनि भइरहेको छ । तर, नेपालमा भने घाटा भयो भनेर १५/१५ दिनमा रोइकराई गरिरहने निगम फाइदा नहुने भन्दै यसबाट पछि हटेको छ । अन्य देशमा फाइदा हुने तर नेपालमा नहुने भन्ने हुँदैन । त्यसैले निगम विना झन्झट मुनाफामा मात्रै केन्द्रित रहेको छ भन्ने देखिन्छ ।

अत: इथानोलका फाइदा विश्लेषण गरी पेट्रोलियममा इथानोल मिसाउने नीति निगमले लिनैपर्छ । आकार थोरै भए पनि त्यसले दिने सन्देश सकारात्मक हुन्छ । अत: अविलम्ब यो नीतिलाई निगमले ब्यूँताउनुपर्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x