ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हवाई र स्थल यातायात दुवैको भाडा बढ्यो

२०७९ असार, ७  
समाचार
NA

काठमाडौं (अस) । इन्धनको मूल्य वृद्धिसँगै हवाई र स्थल यातायातका साधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले स्थल यातायातको र वायुसेवा सञ्चालक संघले हवाई यातायातको भाडा बढाएका हुन् । विभागले स्वचालित मूल्य प्रणालीअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर बढेको जानकारी दिएको छ । यस प्रणालीअन्तर्गत इन्धनको मूल्य ५ प्रतिशतले तलमाथि हुँदा गाडी भाडा घटबढ गर्नुपर्छ ।

विभागले सोमवार विज्ञप्ति जारी गरी अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारीमा ५ दशमलव ३० प्रतिशतले भाडा बढाएको हो । मालवाहकको हकमा पहाडी बाटोमा चल्नेको ६ दशमलव ९४ र तराईमा चल्नेको ७ दशमलव ७ प्रतिशतले भाडा बढेको छ । स्थानीय रुटमा चल्ने सवारीसाधनको भाडादर भने यथावत रहेको विभागको भनाइ छ ।

वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज बढाएको हो । संघले सोमवार सूचना जारी गर्दै सबै सेक्टरको उडानमा भाडा बढाएको जानकारी दिएको छ । नयाँ हवाई भाडा बुधवारदेखि लागू हुनेछ । संघका अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी सेक्टरको भाडा बढेको छ । उक्त रूटमा फ्युल सरचार्ज ८४० रूपैयाँले बढ्दा कुल भाडा १६ हजार ८०५ रूपैयाँ पुगेको छ । दोस्रोमा काठमाडौं–माउन्टेन सेक्टरमा ६५५ रूपैयाँले बढेर कुल भाडा १४ हजार ७२० रूपैयाँ कायम भएको छ ।

काठमाडौं–नेपालगञ्ज सेक्टरमा पनि ६२० रूपैयाँले वृद्धि भई प्रतियात्रु १३ हजार ८१५ रूपैयाँ भाडा कायम भएको छ । काठमाडौं–भद्रपुर सेक्टरमा सरचार्ज ५७० रूपैयाँ बढेको छ । काठमाडौं–विराटनगर सेक्टरमा ४५५ र भैरहवा सेक्टरमा ३९५ रूपैयाँले बढेको छ । अब सबैभन्दा सस्तो उडान काठमाडौं–सिमराको हुनेछ । यो रुटमा सरचार्ज १७० रूपैयाँले बढेको छ ।

नेपाल आयल निगमले आइतवार रातिदेखि लागू हुने गरी पेट्राल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको थियो । निगमले पेट्रोलको २१, डिजेलको २७ र हवाई इन्धनको १९ रुपैयाँका दरले प्रतिलिटर मूल्य बढाएको हो । योसँगै प्रतिलिटर मूल्य पेट्रोलको १९९, डिजेलको १ सय ९२ र हवाई इन्धनको १८५ रुपैयाँ पुगेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x