ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निगमले अब घाटामा तेल नबेच्ने

२०७९ असार, ७  
समाचार
NA

काठमाडौं (अस) । नेपाल आयल निगमले घाटामा पेट्रोलियम पदार्थ नबेच्ने भएको छ । हालसम्म निगमले लागतभन्दा कम मूल्यमा बेच्दै आएको थियो । घाटा धान्न नसक्ने भएपछि यस्तो निर्णय लिएको निगमको भनाइ छ ।

निगमले सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गरी अब घाटामा तेल विक्री नगर्ने जानकारी गरायो । यो असारभित्रै लागतअनुसार इन्धन विक्रीको व्यवस्था मिलाउने निगमको भनाइ छ ।

सोही उद्देश्यअनुसार आइतवार उच्च दरमा पेट्रोलियम पदार्थको मूल्य बढाएको निगम अधिकारीले बताए । निगमले आइतवार पेट्रोलको लिटरमा २१ र डिजेलको २७ रुपैयाँका दरले मूल्य बढाएको थियो । निगमका अनुसार प्रतिलिटर लागत पेट्रोलको २१२ रुपैयाँ ५८ पैसा र डिजेलको २०५ रुपैयाँ ९५ पैसा छ । यसअनुसार निगमले अझै पनि पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा र डिजेलमा १३ रुपैयाँ ९५ पैसा घाटा बेहोरिरहेको छ । पूर्वाधार कर घटाएरै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको पनि निगमले जानकारी दिएको छ ।

निगमले आइतवारसम्म पेट्रोल लिटरमा ३१ रुपैयाँ २८ पैसा र डिजेल ३७ रुपैयाँ १६ पैसा घाटा खाएर बेचिरहेको थियो । निगमले आइतवारसम्म २०९ रुपैयाँ २८ पैसा लागतको पेट्रोल १७८ तथा २०२ रुपैयाँ १६ पैसा लागतको डिजेल १६५ रुपैयाँमा बिक्री गरिरहेको थियो ।

उच्च दरको घाटा धान्न नसक्ने भएपछि लागत मूल्यमै पेट्रोलियम पदार्थ विक्री गर्नुपर्ने अवस्था आएको निगमको भनाइ छ ।

हाललाई नचलाएको ग्यासको मूल्यबारे कार्यदल बनाएर अध्ययन भइरहेको निगमले जानकारी दिएको छ । अध्यनबाट आउने निष्कर्षका आधारमा थप निर्णय गरिने निगमको भनाइ छ ।

सम्भवत: ग्यासमा दुईथरी मूल्य तोकिने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले बताए । घरायसी र औद्योगिक प्रयोजनको ग्यास मूल्य फरकफरक तोकिने उनको भनाइ छ । यसमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको कार्यदलले अध्ययन गरिरहेको छ । घरायसी र औद्योगिक प्रयोजनको ग्यास सिलिन्डरको आकार र रङ फरक हुने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x