काठमाडौं (अस) । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याउन लागेको मौद्रिक नीतिको सम्बन्धमा नेपाल चेम्बर अफ कमर्शले सुझाव पेश गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले संस्थागत रूपमा सुझाव बुझाएका हुन् । विश्व अर्थतन्त्रका विद्यमान समस्या, देशमा ह्रास हुँदै गएको विदेशी मुद्राको सञ्चिति र तरलता लगायत विषयमा सुझाव दिइएको चेम्बरले जानकारी दिएको छ ।
बजेटले लक्षित गरेको ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न र मुद्रास्फीति ७ प्रतिशतमा सीमित गर्न कठिन देखिएको भन्दै चेम्बरले उक्त लक्ष्य प्राप्तिमा सघाउने मौद्रिक नीति आउनुपर्ने उल्लेख गरेको छ । ‘निजीक्षेत्रको मनोबल कायम राखी आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राखिएको छ,’ गभर्नर अधिकारीलाई बुझाइएको सुझावमा उल्लेख छ ।