असार ७, पेचिङ (चीन) । चीनले गएको महीना रुससँग यसअघि कहिले नदेखिएको स्तरमा कच्चा तेल किनेको छ । कोरोना भाइरसको महामारी बीच चीनमा तेलको माग घटेको र अर्थतन्त्र सुस्ताइरहेको भएपनि मेमा रुससँग कीर्तिमानी स्तरमा कच्चा तेल किनेको हो ।
योसँगै रुस साउदी अरबलाई उछिनेर चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता बनेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै अमेरिका र यूरोपेली देशहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् भने रुसी तेलमा प्रतिबन्ध लगाउने वा क्रमशः प्रयोग ठप्प पार्दै लैजाने घोषणा गरेका छन् । यस्तोमा विक्री नभएर उब्रिएको कच्चा तेल रुसले एशियामा विशेषगरी चीन र भारतलाई भारी छूटमा बेचिरहेको छ ।
योसँगै गत वर्षको सोही अवधिको तुलनमा मे महीनामा चीनमा रुसी तेल आयात ५५ प्रतिशतले बढेको छ । चीनले पूर्वी साइबेरिया प्रशान्त महासागर हुँदै जाने पाइपलाइन र रुसको यूरोपेली र सुदुर पूर्वी तटहरुहबाट समुद्री मार्ग हुँदै आउने जहाजमा समेत गरेर गत महीना ८४ लाख टन रुसी तेल आयात गरेको चीनको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ । यो भनेको दैनिक १९ लाख ८० हजार ब्यारेल बराबर हो ।
अप्रिलमा रुसी तेल आयात दैनिक १५ लाख ९० हजार ब्यारेल थियो । सिनोपेक र चनहुआ आयलसमेतका सरकारी कम्पनीहरुले रुसी तेल खरिद तीव्र पारेका छन् । प्रतिबन्धका कारण पश्चिमी ठूला तेल कम्पनी र ट्रेडिङ हाउसले रुसी तेलबाट हात झिकेपछि रुसले भारी छूटमा तेल विक्री गरिरहेको छ ।
चीनको दोस्रो ठूलो तेल आपूर्तिकर्ता साउदी अरबले भने गएको महीना भर ७८ लाख २० हजार टल कच्चा तेल चीनलाई बेचेको छ । दैनिक रुपमा हिसाब गर्दा यो १८ लाख ४० हजार ब्यारेल हुन आउँछ । अप्रिलको तुलनामा यो ३ लाख ३० हजार ब्यारेल कम हो । १९ महीनाको अन्तरपछि रुस चीनको शीर्ष तेल आपूर्तिकर्ता बनेको छ ।
समीक्षा अवधिमा चीनले इरानबाट २ लाख ६० हजार टन कच्चा तेल आयात गरेको छ । गएको डिसेम्बरयता इरान चीनको तेस्रो ठूलो तेल आपूर्तिकर्ताको रुपमा रहँदै आएको छ । चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हो । चीनले रुससँग सस्तोमा तेल किनेर अहिले रणनीतिक तेल भन्डार भर्ने काम तीव्र पारिरहेको छ । एजेन्सी