असार ७, लन्डन (बेलायत) । पछिल्लो समय विश्वभर महँगी बढेको छ ।
कच्चा तेलको भाउ बढेको र खाद्यान्नसमेतका सबै वस्तु महँगो बनेपछि सर्वसाधारणहरुको क्रय शक्ति घट्दै गइरहेको छ । हातमुख जोर्न धौ धौ भइरहेको छ । यस्तोमा महँगीको मारबाट कर्मचारीहरुलाई जोगाउन कर्मचारीहरुलाई एक मुष्ट महँगी भत्ता दिने वा तलब बढाउने बेलायती कम्पनीको संख्या बढिरहेको छ ।
घरेलु स्तरमा जीवनयापन खर्चमा भएको वृद्धिको प्रभावबाट आफ्ना कर्मचारीलाई जोगाउन बेलायती लक्जरी कार तथा हवाई जहाजको इन्जिन बनाउने कम्पनी रोल्स रोयसले १४ हजारभन्दा धेरै कर्मचारीहरुलाई एक मुष्ट २ हजार पाउन्ड दिने भएको छ । यो रकम व्यवस्थापन तहका कनिष्ठ कर्मचारी र कम्पनीका साधारण कर्मचारीलाई दिइनेछ ।
कम्पनीले अगष्टदेखि ३ हजार कर्मचारीलाई एक मुष्ट महँगी भत्ता दिन शुरु गर्नेछ । कर्मचारी संगठनमा आबद्ध भएका बाँकी ११ हजार कर्मचारीलाई भने संगठनबाट भुक्तानी रकमलाई मञ्जुरी मिलेपछि वितरण गरिनेछ ।
कम्पनीका अनुसार बेलायतमा रहेका करीब ७० प्रतिशत कर्मचारीले महँगी भत्ता पाउनेछन् । इन्धन, खाद्यान्न लगायतको भाउ बढेर अहिले बेलायतमा महँगी ४० वर्षयताकै उच्च स्तरमा उक्लिएको छ ।
यस्तोमा कर्मचारीहरुलाई जिविकामा टेवा दिन कम्पनीले साधारण कर्मचारीको तलबमा एक दशकयताकै उच्च वृद्धिको घोषणा पनि गरेको छ । भने जस्तो कर्मचारी भर्ती गर्न र भएका राम्रा कर्मचारीहरुलाई पनि टिकाइराख्न कम्पनीहरुले तलब बढाइरहेका छन् । अहिले बेलायतमा बेरोजगारको संख्याभन्दा धेरै जागिर खुलिरहेका छन् ।
बेलायती बैंक ल्योड्सले आफ्ना ६४ हजारभन्दा धेरै कर्मचारीलाई १ हजार पाउन्ड बराबरको एक मुष्ट महँगी भत्ता दिने भएको छ । सुपर मार्केट मरिसन्सले पनि ८० हजार कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो ।
बेलायतमा टेस्को, सेन्सबरी र आस्दालगायत अन्य सुपरमार्केटले पनि यो वर्ष तलब बढाउने घोषणा गरिसकेका छन् । बेलायतमा अहिले महँगी ९ प्रतिशत आसपास छ । यस वर्षको आगामी दिनमा महँगी झनै बढ्ने अनुमान गरिएको छ । एजेन्सी