असार ७, काठमाडौं । अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरले मुलुकका लागि शुरुवातमा १०० मेगावाट(मेवा) को हाइड्रोजन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।
अर्थमन्त्री शर्माले यसका लागि लगानी बोर्डमार्फत लगानीकर्ताको खोजी गर्ने पनि बताए ।
अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग भएको छलफलमा उनले विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको बताए ।
उनले नेपालमा पनि तत्काल १०० मेवाको हाइड्रोजन प्लान्ट लगाउने बिषयमा आवश्यक अध्ययन र प्राविधिक सहयोग जुटाउने कार्यमा संलग्न हुन केयूका पदाधिकारीलाई निर्देशन दिए ।
‘हाइड्रोजन प्लान्ट लगाउने बिषयमा अर्थ मन्त्रालयको तर्फबाट पनि केही तयारी गर्छौं । तपाईहरु (केयूका पदाधिकारी) पनि तयारी गर्नुस् । र हप्ता/ १० दिन भित्र पुनः अर्को बैठक बसौं’, उनले भने ।
रासायनिक मल कारखाना खोल्न विभिन्न देशका अन्तरराष्ट्रिय कम्पनीहरुले इच्छा देखाइरहेको जानकारी गराउँदै मन्त्री शर्माले हाइड्रोजन इन्धनबाट मल कारखाना सञ्चालन गर्ने बिषयमा छलफल अघि बढाउने बताए ।
छलफलमा ग्रीन हाइड्रोइजन ल्याबका प्रमुख बिराजसिंह थापाले १०० मेगावाटको ग्रीन हाइड्रोजन प्लान्ट डेढ वर्षमा तयार गर्नेगरी अन्तरराष्ट्रिय कम्पनीहरुले प्रस्ताव गरिरहेको बताए ।
उनले विभिन्न देशमा ग्रीन हाइड्रोजनको अभ्यास तथा पेट्रोलियमलाई विस्थापित गरी ग्रीन हाइड्रोजन अवलम्बन गर्ने नीतिका बारेमा जानकारी गराएका थिए । उनका अनुसार एक किलो हाइड्रोजन इन्धन उत्पादन गर्न नौ किलो शुद्ध पानी चाहिन्छ । विश्वको तुलनामा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्न धेरै सस्तो भएको उनले बताए ।
‘हिमालयन देशको शुद्ध पानी हाइड्रोजन उत्पादनका लागि उपयुक्त हुने विभिन्न अध्ययनले देखाएको छ । त्यसैले नेपालको हिमाली तथा पहाडी क्षेत्रको पानी प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्यौंं भने धेरै फाइदा पुग्छ । निर्यातमा कोशेढुङ्गा साबित हुन सक्छ’, उनले भने ।