असार ७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३९ दशमलव ९३ अंक बढेर बन्द भएको छ ।
यो दिन नेप्से परिसूचक १ हजार ९२४ दशमलव ७४ विन्दुमा पुगेको हो । यस दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ३७ लाख ६५ हजार ५१६ कित्ता शेयर २५ हजार ३६४ पटकमा रू. १ अर्ब २५ करोड ३७ लाख ५७ हजार ७१४ दशमलव ९२ मा खरीदविक्री भएको छ ।
बजार निरन्तर घटेकाले विभिन्न कम्पनीहरुको शेयरमूल्य निकै सस्तो भएको छ जसका कारण पनि खरीदकर्ता त्यस्ता कम्पनीतर्फ आकर्षित भएका हुन् ।
यो दिन आन्दोलनरत लगानीकर्ताहरुको माग पुरा गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले तत्परता देखाउन थालेसँगै लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेपछि मंगलवार बजार बढेको देखिन्छ ।
यद्यपि बजार विस्तारका लागि सरकार र नियामक निकायले केही नीतिगत सुधारका गर्नुपर्ने हुन्छ । पछिल्लो एक वर्षयता ब्याजदरमा वृद्धि ,बैैकिङ्ग प्रणालीमा तरलता अभाव र शेयर धितोकर्जाको सिमालगायतका कारणले शेयर बजार प्रभावित बन्दै आएको छ ।
त्यसोत कतिपयले सामाजिक सञ्जालमा शेयर धितोकर्जाको सीमा संशोधन हुने चर्चा गरेपछि पनि मंगलवारको बजार बढ्न मद्धत पुगेको हो ।
यो दिन कारोबारमा आएका २३१ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशतका दरले बढेसँगै सकारात्मक सर्किट लागेको छ । आँधिखोला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७९४ र सिवाईसी नेपाल लघुवित्तको शेयरमूल्य रू. ५५० दशमलव ३० पुगेको छ ।
त्यसैगरी मंगलवार नबिल ब्यालेन्स फण्ड - २ को इकाई मूल्य २ दशमलव ९३ प्रतिशत घटेर रू. ९ दशमलव ६१ कायम भएको छ । त्यसैगरी दोस्रोमा तेह्रथुम पावर कम्पनीको शेयरमूल्य २ दशमलव ८७ प्रतिशत घटेर रू.४१० मा झरेको छ ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. ११ करोड ७२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८८० कायम भएको छ ।
त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंक रहेको छ । उक्त कम्पनीको रू. ४ करोड ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।