ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको मूल्य समायोजन : उद्योग मन्त्री बडू        

२०७९ असार, ७  
समाचार
Image Not Found

असार ७, काठमाडौं । सरकारले आपूर्ति व्यवस्थालाई सहज बनाउन पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको प्रष्टीकरण दिएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सार्वजनिक महत्वका विषयमा समय लिएर बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले इन्डियन आयल कर्पोरेशन(आईओसी) लाई पेट्रोलियम पदार्थ खरीदबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जाने देखिएको हुँदा आपूर्ति व्यवस्था सहज बनाइ राख्न लागतअनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मकस्थिति निगमसामु देखिएको बताए।     

उनले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र सो बमोजिम सर्वसाधारणको हितलाई ध्यानमा राखी मूल्य समायोजन नगर्दा निगमलाई जेठ मसान्तसम्म करीब ५० अर्ब रुपैयाँ घाटा भएको तथा  आईओसीलाई २२ अर्ब रुपैयाँ बक्यौता रहेको जानकारी दिए ।
     
सर्वसाधारणले खाना पकाउन प्रयोग गर्ने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत् महसुलमा सहुलियत दिई राहत प्रदान गर्ने विद्युतीय चुल्होलगायत विद्युतीय सामग्री प्रयोग बढाउनका लागि करमा छूट प्रदान गर्ने तथा बढी विद्युत् प्रयोग गर्ने उद्योगलाई विद्युत् महसुलमा छूट दिने नीति लिइएको मन्त्री बडूको भनाइ छ ।     
     
 उनले पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा बुद्धिमतापूर्वक प्रयोगका लागि सरकारले अगाडि बढाएका नीति तथा कार्यक्रमको कार्यान्वयनमा तथा पेट्रोलियम पदार्थको विवेकपूर्ण उपयोग गर्न उपभोक्तामा आग्रहसमेत गरे।  ‘मूल्यवृद्धि बाध्यात्मक अवस्था हो । सरकार जनतालाई परेको पीरमर्काप्रति संवेदनशील छ’, उनले भने, ‘मूल्यवृद्धि गर्नुपर्दा सरकारलाई पनि पीडाबोध भइरहेको छ ।’     

निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गर्नुभन्दा पहिला पेट्रोलियम पदार्थको धेरै मात्रामा विक्री गरी घाटा पुर्‍याएको र केही व्यापारीलाई अनुचित फाइदा पुर्‍याएको भनी सांसदले उठाएको सन्दर्भमा निगमको प्रचलित कानून, नीति तथा पेट्रोलियम पदार्थको विक्रीसम्बन्धी परम्पराअनुरुप नै विक्री गरिएको र निगमको कुनै पनि निगमको डिपो खाली नगरी विक्री गरिएको मन्त्री बडूले स्पष्ट पारे ।

उनले कसैलाई नाफा अथवा कसैलाई घाटा हुने हिसाबले नभई कानूनी र नीतिगत व्यवस्थाअनुरुप मूल्य निर्धारण तथा विक्री हुने बताए ।     
     
 पछिल्लो समय रुस—युक्रेन युद्धका कारण सृजना भएको विश्व ऊर्जा संकटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समयमा बढेरै आइरहेको भन्दै मन्त्री बडूले निगमले आफू घाटामा रही कारोबार कार्य गरिरहेको बताए ।     
     
अन्तरराष्ट्रिय बजारअनुसार पेट्रोलको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया निगमले विगतदेखि नै अवलम्बन गर्दै आइरहेको विषय भएको उनले बताए ।

मन्त्री बडूले पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिको कारण सर्वसाधारणलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै सरकारद्वारा हाल पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर समायोजन गरेर मूल्य घटाउने र उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा खुद्रा विक्री मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाइसकिएको बताए ।

सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ खपत कम गर्ने व्यवस्था मिलाउन नीतिगत निर्णय भइसकेको जानकारी दिंदै मन्त्री बडूले चालू आवको बजेटमार्फत पहिलो चरणमा सिंहदरबारस्थित सरकारी कायार्लयबाट एलपी ग्यासको प्रयोग हटाएर वैकल्पिक उपाय अवलम्बन गर्ने नीतिगत व्यवस्था गरिएको बताए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x