ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

निःशुल्क शौचालय सञ्चालन गर्न ३३ ओटा संघसंस्थासँग सम्झौता, महानगरभित्र २५० शौचालय  नि: शुल्क हुने 

२०७९ असार, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ७, काठमाडौं। काठमाडौं महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ ओटा संघसंस्थासँग सम्झौता गरेको छ ।

बैङ्क, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ ओटा संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार सम्झौता भएको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेकाछन् । नविल बैङ्कसँग यस अघि नै सम्झौता भइसकेको छ ।

सम्झौता आउँदो ५ बर्षका लागि हुनेछ । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने छन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् । 

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोक्नेछ । उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन् ।  महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो । 

यो स्वतस्फूर्त कार्यक्रम रकसैलाई कर नगरिएको महानगरका प्रमुख शाहले बताए ।  ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो । यसको म प्रशंशा गर्न चाहन्छु । यसमा कसैलाई दबाब छैन । अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ ।’ उनले भने ।

त्यस क्रममा सम्झौता गर्नेहरुकातर्फबाट कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले, महानगरसँगको सहकार्यमा वृक्षारोपण, हरियाली प्रबर्धन, सम्पदाको पुनरुत्थानजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै अवसर माग गरेका थिए । 

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x