ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

यसकारण उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया पहिलो रोजाइ बनेको छ : प्रविण पौडेलको लेख

२०७९ असार, ७  
विविध
Image Not Found

यतिबेला विद्यार्थीहरु कक्षा १२ को वार्षिक परीक्षा दिएर बसेका छन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफलको लागि तीव्र तयारी गरिरहेको छ । विद्यार्थीहरु भने आफ्नो भविष्यको रुपरेखा कसरी कोर्ने भनेर सोचिरहेका छन् ।

एकातर्फ कतिपय विद्यार्थीहरुले देशभित्रै अध्ययन गर्नको लागि ब्रिजकोर्सहरु अध्ययन गर्ने, कम्प्युटर सिक्ने, भाषाका कक्षाहरु लिने गरिरहेका छन् भने अर्कोतर्फ कतिपय विध्यार्थीहरु बैदेशिक अध्यनको लागि आवश्यक तयारी कक्षाहरु लिइरहेका छन् । यसै सन्दर्भमा बैदेशिक शिक्षाको क्षेत्र, विशेषः गरी अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जानको लागि आवश्यक पर्ने योग्यता, मापन प्रणाली र लागत खर्च जस्ता बिषयको वारेमा केहि कुरा बुझ्नुपर्छ ।

सामान्यतया विदेशमा विभिन्न तहमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई शैक्षिक परामर्श , डकुमेन्टेसन, लगायतका प्रक्रियाहरुमै धेरै कन्फ्युजन हुन्छ । यतिबेला विशेषःगरी कक्षा १२ को वार्षिक परीक्षा दिएका धेरै विद्यार्थीहरु धेरै कन्सलटेन्सीमा भिजिटमा आउने जाने गर्छन् । उनीहरूलाई आवश्यक पर्ने अंग्रेजी भाषा, आइएलटिएस, पिटिईका कक्षाहरुको व्यवस्थापन गर्ने र रिफ्रेसमेन्ट कार्यक्रमहरु कन्सलटेन्सीले दिइरहेका छन् ।

बैदेशिक अध्ययनमा जाने विद्यार्थीको तथ्याकं हेर्दा वार्षिक रुपमा झन्डै २ लाख विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बिभिन्न देशमा जाने गरेको पाइन्छ । अष्ट्रेलियाको हकमा कुरा गर्दा बैदेशिक अध्ययनमा जाने कुल विद्यार्थीको करीब एक– तीहाई हिस्सा ओगटेको देखिन्छ । यस अर्थमा अष्ट्रेलिया जान खोज्ने र जाने विद्यार्थीको संख्या बढी नै छ। 

प्लसटु पास गर्दा २.४ जीपीए भन्दामाथि ल्याई आईएलटिएसमा ५.५ वा अन्यमा सोसरह ल्याउने विद्यार्थी अष्ट्रेलियामा दुई वर्ष बराबरको डिप्लोमा कोर्स अध्ययन गर्न पाउँछन्। त्यसैगरी, प्लसटुमा २.६ जीपीए प्राप्त गरी आइएलटिएसमा ६ अंक ल्याउने विद्यार्थीहरु ब्याचलर्सको कोर्ष अध्ययन गर्न पाउँछन् । यी माथि उल्लेखित कुराहरू पूरा भएमा अस्ट्रेलिया अध्ययनको लागि आवश्यक अन्य प्रक्रियाहरु अगाडि बढाउन सकिन्छ ।

भिषा लागिसकेपछि लागत बढि भयो भन्ने गरेको पनि पाईन्छ । ठ्याक्कै यत्ति नै लाग्छ भनेर भन्ने अवस्था त रहन्न । बिदेशमा पढ्न जाने भनेपछि कन्सल्ट्यान्सीले भनेजति पैसा तिर्न तयार हुने गरेको पाईन्छ । कतिपय अवस्थामा सामान्यतः डिप्लोमा कोर्ष अध्ययन गर्नको लागि वार्षिक शुल्क सहित १४/१५ लाखजति लाग्छ । यसमा कलेज हेरेर केही इन्सुरेन्स शुल्क लाग्छ भने कुनैमा यही शुल्कले समेट्छ ।

त्यस्तै, ब्याचलर्स कोर्ष अध्ययन गर्नको लागि वार्षिक शुल्क सहित  लगभग १७/१८ लाख जति लाग्ने भए पनि ६ महीनाको शुल्क तिर्दा लगभग १४/१५ लाख जति लाग्न सक्छ । कलेज तथा कोर्स हेरेर यसमा केहि फरक हुन सक्छ । त्यसैगरी, कलेज हेरेर केही इन्सुरेन्स शुल्क लाग्छ भने कुनैमा यही शुल्कले समेट्छ । 

अष्ट्रेलियाको हावा पानी नेपालीहरुलाई उपयुक्त हुने प्रकारको छ । अष्ट्रेलिया विश्वभरिका विद्यार्थीहरुको लागि एक आकर्षक गन्तब्यको रुपमा रहेको छ । त्यस्तै, त्यहाँ ठूलो संख्यामा नेपाली समुदायका मानिसहरू रहेका छन्।  त्यति मात्र नभएर अस्ट्रेलियाको सरकारले विदेशबाट अध्ययनको लागि आएका विद्यार्थीहरूलाई धेरै राम्रो सहयोग गर्ने गर्छ । 

तथ्यांकअनुसार अष्ट्रेलियामा अध्ययन गर्ने विद्यार्थीहरुमा करीब ९० प्रतिशत सन्तुष्टि दर रहेको छ । विश्वका दुई सय भन्दा बढी देशका विद्यार्थीहरुले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गरिरहेका छन् । त्यस्तै, अष्ट्रेलियाका सातवटा सहरहरू विश्वका उत्कृष्ट ४० वटा शहरहरु भित्र पर्दछन् । अष्ट्रेलियाले अन्य देशका विद्यार्थीहरुलाई लक्षित गरी ३० करोड अष्ट्रेलियन डलरभन्दा बढी रकम छात्रवृत्तिको लागि छुट्याएको छ ।

त्यसैगरी, अस्ट्रेलियाको शिक्षण प्रणाली उपयुक्त, सुरक्षित र मैत्रीपूर्ण रहेको छ। पछिल्लो नतिजाअनुसार यहाँका १५ वटा विश्वविद्यालयहरु विश्वकै उत्कृष्ट ५० विश्वविद्यालय भित्र पर्न सफल भएका छन् । 
अध्ययनसंगै काम 

धेरै जसो नेपाली बिदेशको अध्ययन गर्न जानुको पछाडि  अध्ययन संगै काम गर्नुपनि हो । अस्ट्रेलियाको शिक्षणमा सैद्धान्तिक र व्यबहारिक उपयोगको तालमेल पनि मिलेको छ । त्यहाँ रहेर अध्ययन र काम गर्दै जाँदा बिभिन्न सीप र दक्षता अभिवृद्धि गर्दै जान सकिन्छ । विद्यार्थी भएकै अवस्थामा पनि एक हप्तामा करिब २० घण्टा काम गर्ने स्वतन्त्रता छ भने अध्ययन सकिसकेपछि केही वर्षसम्म पूर्णकालीन रुपमा काम गर्न सक्छन् । सो क्रममा अष्ट्रेलियाको दक्ष जनशक्ति भित्र पर्न सकेमा स्थायी आवासिय अनुमति पनि प्राप्त गर्न सकिन्छ । यस अर्थमा अष्ट्रेलिया बहुसंख्यक नेपाली विद्यार्थीको रोजाईमा परेको हुनुपर्छ।

अष्ट्रेलियामा बहुसांस्कृतिक, बहुभाषिक, तथा बहुधार्मिक समुदायहरू रहेका हुनाले सुरुमा घुलमिल हुन नेपाली विद्यार्थीहरुलाई गाह्रो हुनसक्छ। अधिकांश नेपाली विद्यार्थीहरू निम्न–मध्यम आयस्तरको पृष्ठ भूमिबाट त्यहाँ अध्ययन गर्न जाने भएको हुनाले अध्ययन र काम बीचको सन्तुलन मिलाउन गाह्रो भने हुनसक्छ । त्यसैगरी, परिवारदेखि टाढा रहनु पर्ने भएको हुनाले होम सिकनेस हुन पनि सक्छ । 

मूख्य रुपमा अस्ट्रेलियामा रहेका कलेजहरुमा ’विद्यार्थी सहायता कक्ष’ हुने गर्छन् । कन्सलटेन्सीले विद्यार्थीलाई ती सहायता कक्ष सँग समन्वय गरि आवश्यक साथ र सहयोग प्रदान गर्ने गर्छन । साथै अष्ट्रेलियामा धेरै नेपाली समुदायहरु रहेका  छन, ती मध्ये कतिपय त त्यहाँ स्थापित भएर नै बसेका छन्। त्यसैगरी पहिलै अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु त्यहाँ छन्। त्यतिमात्र नभएर गैरआवासीय नेपाली समाजको उपस्थिति पनि उल्लेख्य मात्रामा रहेको छ। यहाँ एक नेपालीले अर्को नेपालीको दुःखमा सहयोग गर्ने प्रचलन स्थापित भएको छ।  अतः कुनै किसिमको समस्या परेमा यी समुदायहरु बाट सहयोग लिन पनि सकिन्छ।

लेखक- प्रविण पौडेल रोजेटा एजुकेशन इन्टरनेशनलका प्रबन्ध निर्देशक हुन  ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x