ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्थानीय तहमा सीएको स्वयम्सेवकीय भूमिका

२०७९ असार, ८  
लेख | दृष्टिकोण
Image Not Found
author avatar तेजप्रसाद सुवेदी

संघीय सरकारको आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रम हेर्दा उसले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड, सशर्त अनुदानतर्फ प्रदेश र स्थानीय तहलाई क्रमश: ५७ अर्ब १७ करोड र १ खर्ब ८३ करोड, समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड विनियोजन गरेको छ । राजस्व बाँडफाँटमा प्रदेश र स्थानीय तहमा गरी १ खर्ब ६३ अर्ब हुने किसिमले विनियोजन गरेको छ ।

यी दुई दृष्टान्त यहाँ प्रस्तुत गर्नुको ध्येय नेपालको शासकीय तथा वित्त संरचना विकेन्द्रकीरणमा परिवर्तन भइरहँदा वित्तीय क्षेत्रको महत्त्वपूर्ण जनशक्ति चार्टर्ड एकाउन्टेट (सीए) हरू संघीय मानसिकतामा मात्र केन्द्रित हुने कि राज्यको स्रोतसाधनको उचित व्यवस्थापनमा सहयात्री हुँदै स्थानीय तहलाई सहजीकरण पनि गर्ने ? भन्ने हो ।

चार्टर्ड एकाउन्टेन्ट्स पेशाको विकासक्रम तथा प्रवृत्तिलाई मिहिन विश्लेषण गर्ने हो भने अर्थतन्त्रको आयामिक भूमिकामा उनीहरूले महत्त्वपूर्ण योगदान गर्ने तथ्यलाई विश्वव्यापी रूपमा स्वीकार गरिएको छ । पेशाको परम्परागत अवधारणाबाट एक कदममाथि उठेर विद्यमान पेशागत कार्यसम्पादनमा हामी चार्टर्ड एकाउन्टेटहरू लेखा अभ्यासबाहेक वित्तीय तथा व्यावसायिक परामर्शलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेका छौं । यस विषयलाई जोडेर स्थानीय तथा प्रदेश तहमा विकेन्द्रित अर्थव्यवस्थाको संरचनाको वैज्ञानिक प्रयोगमा स्वयम्सेवकीय भूमिकामा रहेर चार्टर्ड एकाउन्टेन्ट्हरू कसरी स्थानीय अर्थ व्यवस्थाको सहयात्री बन्न सक्छन् भन्ने विषयमा यस लेखमा छलफल गर्न खोजिएको छ ।

स्थानीय अर्थतन्त्र व्यवस्थापनका समस्या
स्थानीय तथा प्रदेश सरकारमा भएका आर्थिक गतिविधिको लेखांकन, व्यवस्थापन तथा प्रक्षेपणमा अहिले निजामती क्षेत्रले नेतृत्व गरिरहेको छ । जनताको म्यान्डेट लिएर आउने जनप्रतिनिधि र तोकिएको प्रणालीमा रहेर अभ्यास गर्ने निजामती कर्मचारीबीच वित्तीय व्यवस्थापनका विषयमा तादात्म्य नमिल्नु नौलो विषय रहेन । जनप्रतिनिधिले अर्थतन्त्रप्रतिको बुझाइलाई सामान्य रूपमा लिनु, वित्त व्यवस्थापनसम्बन्धी साक्षरतामा भएकोे कमी र निजामती प्रशासनले वित्तीय व्यवस्थापनमा राख्ने जड सोच अहिले देखिएका समस्याका कारणहरू हुन् भन्दा अत्युक्ति नहोला । यही समन्वयको अभावले गर्दा स्थानीय तहमा बेरुजूको मात्रा वृद्धि भएको छ ।

स्थानीय तहको बजेट तथा कार्यक्रममा पेश गरिने योजनाहरू लभ/लागत विश्लेषणको सट्टा जनता वा केही अमूक व्यक्तिको क्षणिक मनोभावलाई आधार मानेर निर्माण गरिँदा एकातर्फ योजना कार्यान्वयन नहुने र कार्यान्वयनमा गइहाल्यो भने पनि लागत बढ्ने वा बीचमै निर्माण रोकिनेजस्ता समस्या देखिएका छन् । वित्तीय स्रोत संकलनतर्फ हेर्दा, राजस्व संकलनका स्रोतको पहिचान तथा संकलनमा वैज्ञानिक आधारको निर्माण नगरी करका दरमा वृद्धि हुन जाँदा स्थानीय सरकारप्रति आउन सक्ने जनताको नैराश्यलाई बेवास्ता गर्न सकिँदैन । यसकारण स्रोत पहिचान तथा त्यसको वितरणमा स्थानीय सरकारलाई चार्टर्ड एकाउन्टेन्टले सहजीकरण गर्नुपर्ने देखिएको छ ।

चार्टर्ड एकाउन्टेन्टले कसरी योगदान गर्ने ?
चार्टर्ड एकाउन्टेन्टहरू वित्तीय क्षेत्रका दक्ष जनशक्ति हुन् । यो पेशालाई विश्वव्यापी स्वीकार्यता छ । हाम्रो पेशाको विज्ञता आयामिक प्रकृतिको रहेको छ । सीएहरूलाई वित्तीय परामर्शदाता, वित्तीय लेखापरीक्षक, वित्तीय प्रणालीको परीक्षक, कर प्रणालीको प्रयोगकर्ता र विश्लेषक, लागत नियन्त्रक, अर्थतन्त्रको योजनाकार, पूँजी निर्माता, सामाजिक सम्परीक्षक र वित्तीय समाजका संवाहकका रूपमा व्याख्या गर्न सकिन्छ । यो पेशा वित्तीय प्रणालीको अन्वेषक र राज्यको प्रतिनिधि त होइन, तैपनि राज्य र समाजले यसलाई विश्वास गर्छ । यो विश्वास स्वच्छ अर्थतन्त्रको निर्माणमा कायम गरेको पेशागत मर्यादाले प्राप्त गरेको हो । साथै सीएहरू अर्थसँग सम्बद्ध रहेर सार्वजनिक सेवाको सन्दर्भमा राज्यलाई जनताका तर्फबाट प्रश्न गर्ने भूमिकामा पनि रहेका छन् । यसरी हेर्दा राज्य र जनता दुवैको विश्वास चार्टर्ड एकाउन्टेन्ट पेशाले प्राप्त गरेको छ ।

स्थानीय आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरूले अर्थतन्त्रका अवयवहरूको जाँच तथा सन्तुलन, सुदृढ सामाजिक प्रणालीको स्थापना, रोजगारी सृजना तथा स्वरोजगारको विस्तार, स्थानीय अर्थतन्त्रको सुदृढीकरण, कर चुहावट तथा नियन्त्रणमा परामर्श, गैरकानूनी कारोबार र अवैध धनको नियन्त्रणमा सहजीकरण, स्थानीय बेरुजू नियन्त्रणमा योगदान गर्न सक्छन् ।

चार्टर्ड एकाउन्टेन्टले स्वयम्सेवक भूमिकामा रहेर स्थानीय तहलाई लेखापरीक्षक र सामाजिक परीक्षकका रूपमा योगदान गर्न सक्छन् । परामर्श, नीति निर्माण तथा स्थानीय अर्थतन्त्रको प्रणाली विकासमा पनि उनीहरूको सहयोग रहन सक्छ । स्रोत पहिचान, शीप विकास, परियोजना निर्माण, कार्यक्रम तथा योजनाको लाभ/लागत विश्लेषण, भुक्तान प्रणालीको विकास, चुहावट नियन्त्रण तथा नीतिनिर्माणमा पनि सीएहरूले सहयोग गर्न सक्छन् । करका दर तथा दायरा विस्तार र सरकारी लेखाप्रणालीमा सहायता, जनप्रतिनिधिलाई कर साक्षरतालगायत क्षेत्रमा रहेर कम्तीमा आफ्नो प्रतिनिधित्व वा आवश्यकता रहेको स्थानीय निकायमा चार्टर्ड एकाउन्टेन्टले पेशागत जिम्मेवारीका रूपमा अनिवार्य योगदान गर्नु पनि पर्छ ।

यसबाट स्थानीय तहलाई प्रत्यक्ष सहायतासँगै चार्टर्ड एकाउन्टेन्टको वृत्ति विकासमा समेत सहयोग पुग्ने देखिन्छ । सरकारी वित्त प्रणालीको प्रत्यक्ष परामर्श गरिरहँदा त्यसमा भएका छिद्र नियन्त्रणका लागि सरकारलाई सहयोगी भूमिका खेल्न सकिन्छ । स्थानीय नेतृत्वसँग भएको सहकार्य नीति निर्माण तहमा पहुँच विस्तारमा सहयोगी हुन सक्छ । दक्ष जनशक्तिको गाउँगाउँसम्म उपलब्धता हुन्छ । ग्रामीण क्षेत्र/स्थानीय अर्थतन्त्रको सबलीकरणको सहयात्री बन्न सकिन्छ । यसबाहेक प्रमुख पेशागत जिम्मेवारीको दायित्व केही हदसम्म पूरा हुन्छ ।

यसको कार्यान्वयनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले स्वयम्सेवक सीएहरूको रोस्टर तयार गरी सम्पूर्ण स्थानीय तहमा समन्वय गर्ने र स्थानीय तहले वित्तीय विज्ञको रूपमा सीएलाई स्वयम्सेवकीय भूमिकामा नियुक्त गर्ने गरी कार्यान्वयन प्रणाली विकास गर्नुपर्छ । पेशागत जिम्मेवारीसहित स्थानीय वित्त प्रणालीलाई वैज्ञानिक तवरमा व्यवस्थापन गर्ने विषयमा चार्टर्ड एकाउन्टेन्ट्सहरूको ध्यान जानुपर्ने देखिन्छ ।

लेखक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका महासचिव हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x