ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आयात घटाउने नीति असफल

२०७९ असार, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि आयात न्यूनीकरण गर्न सरकारले लिएको नीति असफल देखिएको छ । सरकारले नेपाल राष्ट्र बैंकमार्फत आयात कर्जामा कडाइ, आपूर्ति मन्त्रालयमार्फत विलासी सामानको आयातमा रोक र गृहमार्फत २ दिन सार्वजनिक बिदा दिएर आयात घटाउने नीति लिए पनि आयात घट्नुको साटो झन् बढेको तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ ।

भन्सार विभागले मंगलवार प्रकाशित गरेको तथ्यांकअनुसार गत जेठमा अघिल्लो महीनाको तुलनामा २१ अर्ब रुपैयाँले आयात बढेको छ । अत्यधिक आयातका कारण शोधनान्तर घाटा उच्च हुनुका साथै विदेशी मुद्रा सञ्चितिसमेत घट्न थालेपछि राष्ट्र बैंकले गत पुसबाट आयात निरुत्साहित गर्ने नीति अघि सारेको थियो । पुसको पहिलो साता शृंगार तथा विलासिताका विभिन्न २० प्रकारका सामान आयातको एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले माघ तेस्रो साता पुन: २७ प्रकारका सामानमा यो प्रावधान लागू गरेको थियो । यसैगरी फागुन तेस्रो साता सुन आयातको कोटा आधा घटाएर दैनिक १० किलोमा सीमित गरेको छ ।

यसैगरी सरकारले वैशाख १४ गते विलासी वर्गमा पर्ने विभिन्न १० प्रकारका सामान आयातमा रोक नै लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप कार र भ्यानसहितका सवारीसाधन, २ सय ५० सीसीमाथिका मोटरसाइकल, मदिरा, कुरकुरे, लेजलगायत खानेकुरा, चुरोट तथा सुर्तीजन्य वस्तु, तास र खेलौना आयातमा असार मसान्तसम्मका लागि रोक लगाएको छ । यसैगरी पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै सरकारले जेठ महीनाभर साताको २ दिन बिदासमेत दिएको थियो ।

सरकारले आयात निरुत्साहित गर्ने नीति लिएको ५ महीना बिते पनि आयात घटेको छैन । गत वैशाखमा अघिल्लो महीनाको तुलनामा आयात २० अर्बले घटेर १ खर्ब ३७ अर्बमा सीमित हुँदा जागेको आश जेठको आयातले फेरि भताभुंग पारिदिएको छ । गत वैशाखको आयात यो वर्षकै सबैभन्दा कम हो । जेठको आयात वैशाखको तुलनामा करीब २१ अर्ब रुपैयाँ बढी हो । जेठमा १ खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

व्यापारघाटा पौने १६ खर्ब नाघ्यो
चालू आर्थिक वर्षको जेठसम्ममा देशको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । विभागको तथ्यांकअनुसार गत साउनदेखि जेठसम्मको ११ महीनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । आयातको सूचीमा सबैभन्दा माथिबाट क्रमश: डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा फलामलगायत छन् । जेठसम्ममा सबैभन्दा बढी १ खर्ब ४५ अर्ब २१ करोड रुपैयाँको डिजेल आयात भएको छ ।

निर्यातको पहिलो नम्बरमा भटमासको तेल छ । ११ महीनामा नेपालबाट ४६ अर्ब ५८ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ । नेपालले भटमास तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्ने भएकाले आयातको चौथो नम्बरमा यसकै कच्चा तेल छ । ११ महीनामा ५३ अर्ब २५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x