ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हडतालबाट पछि हटे वायुसेवा सञ्चालक, सेवा बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

२०७९ असार, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आन्तरिक उडानका जहाज र हेलिकोप्टर सेवा सञ्चालन गरिरहेका कम्पनीहरू हडतालबाट अन्तत : पछि हटेका छन् । 

कम्पनीहरू हडतालबाट पछि हटेपछि बुधवार विहान ११ बजेबाट सेवा सुचारु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटनमन्त्री प्रेम आले र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग बालुवाटारमा भेट गरी वायुसेवाको हडतालबारे छलफल गर्नुभएको थियो । छलफलमा हडताल गर्ने वायुसेवाको इजाजत खारेज गर्ने र हडताल गर्नेलाई पक्राउ गरी कानूनी कारबाही गर्नेसम्मको तयारी थालिएको थियो ।

यसअघि सरकारले हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारले दिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हाल सञ्चालनमा रहेकामध्ये ६७ प्रतिशत जहाज र हेलिकोप्टरको आधार (बेस) उपत्यकाबाहिरका विमानस्थलमा सार्नुपर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्तरिक वायुसेवा कम्पनीहरूले उडान स्थगन गर्ने घोषणा गरेका थिए । 

वायुसेवा सञ्चालक संघले जहाज स्थानान्तरण र घोषित आन्दोलनका विषयमा सरकारले चासो व्यक्त गरेपछि घोषित आन्दोलन स्थगन गरिएको बताएको छ । संघले सरकारसमक्ष ५ बुँदे मागबारे राखेको छ ।

निजी वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले मंगलवार पत्रकार सम्मेलन गरी ५ बुँदे माग अघि सार्दै आफ्ना मागहरु सम्बोधन नभएसम्म आपत्कालीन उद्धार र नियमित उडान रोक्ने बताएको थियो । सरकारले गत जेठ २६ गते राजपत्रमा सूचना प्रकाशित गरी हवाई सेवालाई अत्यावश्यकअन्तर्गत राखेको छ । अत्यावश्यक सेवामा बन्द, हडताल गर्न पाइँदैन । यो प्रावधान उल्लंघन गर्नेलाई कारबाही हुन्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीलाई मंगलवारदेखि नै उपत्यकाबाहिरका रात्रिकालीन बिसान प्रयोग गर्न भनेको छ । विमान कम्पनीहरूले असार १३ गतेदेखि उपत्यकाबाहिरका विमानस्थललाई आधार बनाउनुपर्नेछ । 

प्राधिकरणको यो निर्णयसँगै अब ६७ प्रतिशत जहाजरहेलिकोप्टरले जुन विमानस्थललाई बेस बनाउने भनेर अनुमति लिएका थिए, रात्रि बिसान (पार्किङ) का लागि सोही विमानस्थल जानुपर्नेछ । त्यहाँबाटै भोलिपल्टको उडान शुरू गर्नुपर्नेछ । त्यस्ता विमानले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थलमा उडान र अवतरण मात्र गर्न पाउनेछन् । उक्त विमानस्थललाई आधार बनाउन वा रात्रिकालीन पार्किङ गर्न पाउने छैनन् । 

यसैबीच बुद्ध एयरले वायुसेवा कम्पनी यात्रुहरूको पारवहान सुविधा र कर्मचारीको जिवकोपार्जन थलो हो भन्दै आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यथोचित निर्णय होइन भनेको छ । साथै उक्त कम्पनीले  बुधवार जारी गरेको एउटा नोटमा यसको आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौं भनेको छ । 

यसैबीच यती एयरलाइन्सले पनि ट्वीट गरेर अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडानहरु नियमित गरिएको जानकारी दिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x