असार ८, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा असार २३ गते गर्ने भएको छ ।
कम्पनीले सभा अम्रपालि बैङक्वेट भाटभटेनी, काठमाडौंमा दिउँसो ११ः४५ बजे शुरु गर्ने जानकारी दिएको छ । सभाले नियामक निकायले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्नेछ ।
सभाले भविष्यमा कुनै कम्पनीसँग एकापसमा मर्जरमा जाने वा गाभ्ने गाभिने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिमा निवेदन दिने र अन्य कुनै कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धी आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यस आधारमा असार १५ गते सम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।